काठमाडौं– सत्ता गठबन्धनमा आबद्ध सबै दलले हैसियतभन्दा बढी मन्त्रालय माग गरेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा त्रय नेताबीच मन्त्रिपरिषद् विस्तार र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको हो।
प्रधानमन्त्री प्रचण्डले ६ चैतमा दोस्रोपल्ट विश्वासको मत प्राप्त गरेपछि १० चैतसम्म मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका थिए। तर हालसम्म गठबन्धनबीच मन्त्रालय बाँडफाँटमा कुरो नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।