काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावमा समर्पित हुनुपर्ने बताएका छन्।सोमबार पूर्वमन्त्री स्व.नवीन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रममा सहभागी राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।
उनले भने, ‘राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ। जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरुका सुख–दुःख बुझेर तिनकै लागि सेवा गर्ने अठोट, प्रतिबद्धता र समर्पणबाट अभिप्रेरित हुनुपर्छ।’
जनतासँग निकटतम सम्बन्ध राख्ने व्यक्तित्वको रुपमा आफूले जोशीलाई चिनेको राष्ट्रपति पौडेलले बताए।
उनले मुलुक र समाज परिवर्तनका लागि संकल्पित, सिद्धान्तनिष्ठ कार्यकर्ताका रुपमा जोशीले लोकतन्त्रलाई जीवनपद्धतिका रुपमा आत्मसात् गरेर पुर्याएको योगदान भावी पुस्ताका लागि प्रेरणा–स्रोत बन्ने विश्वास व्यक्त गरे।