काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणलाई 'सवारी' नभनी 'आवागमन' शब्द प्रयोग गर्न आग्रह गरेका छन्। आइतबार गोरखा पुगेका राष्ट्रपति पौडेलले 'सवारी' शब्द सामान्तवादको प्रतीक भन्दै 'आवागमन' शब्दको प्रयोग गर्न आग्रह गरेका हुन्।
उनले भने, 'देशमा गणतन्त्र आएको छ। राजतन्त्र र गणतन्त्रको राष्ट्राध्यक्षमा केही फरक हुन्छ भन्ने विषयलाई हेक्का राख्छु भनेर मैले भनेको थिएँ। अघिपछि गाडीको सन्दर्भमा सवारी प्रयोग गरे पनि भ्रमणको सन्दर्भमा प्रयोग नगरौं। आवागमन शब्द प्रयोग गरे हुन्छ। सवारी आगन्तुक शब्द हो, फरासी शब्द हो। सवारी समान्तवादको प्रतीकको रुपमा लिइएको हुनाले त्यसलाई नयाँ रुपमा प्रस्तुत गरौं। आवागमन शब्दलाई प्रयोग गरौं भनेर भन्ने अनुरोध गर्न चाहन्छु।'
काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा गोरखा पुगेका राष्ट्रपति पौडेलले गोरखामा करिब दुई घण्टा बिताएका थिए। उनले ठूलो आँगन र गोरखा दरबारमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए भने गोरखनाथ र गोरखकाली मन्दिरमा पूजाआजा गरेका थिए। त्यसैगरी संग्रहालयको अवलोकन पनि गरेका थिए।
राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पहिलो पटक काठमाडौं बाहिरको भ्रमणका लागि गोरखा पुगेका हुन्।