काठमाडौं– एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार र १० दलीय गठबन्धन भत्काउने कुनै योजना नबनाएको महासचिव शंकर पोखरेलले बताएका छन्।
बिहीबार प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार बनाउने र भत्काउनेमा मात्रै ध्यान जाँदा अस्थिरता थप बढ्ने भएकाले हालका लागि एमाले तत्काल गठबन्धन भत्काउनतिर नलाग्ने बताएका हुन्।
‘हामी अहिलेको १० दलीय गठबन्धन भत्काउनतिर लाग्दैनौं। सरकारले देश र जनताका पक्षमा काम गरे साथ दिन्छौं। फेरि सरकारमा पुग्न गठबन्धन भत्काउन सोच राख्दैनौं,’ उनले भने।
सरकारले देश र जनविरोधी काम गरे एमालेले त्यसको विरोध गर्ने उनको भनाइ छ। मुलुकको अर्थतन्त्र कमजोर हुनुमा आरजु राणा र जनार्दन शर्माको मुख्य हात रहेको उनले आरोप लगाए।