काठमाडौं– ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसमा मुख्य अतिथि बनेर कार्यक्रममा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाको मुख प्रहरीले थुनेपछि संसद्मा समेत यसले प्रवेश पाएको छ।
संसद्भित्र मात्र नभएर यो विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डमाथि निरंकुश र प्रजातन्त्रविरोधीको ट्याग लागेको छ। लोकतन्त्रमा आफ्ना गुनासा र माग राख्न पाउनुपर्ने नागरिकको नैसर्गिक अधिकारलाई समेत प्रचण्डले कुल्चिएको देखिएको छ।
मंगलबार प्रधानमन्त्री प्रचण्ड सहभागी कार्यक्रममा विभिन्न माग राख्दै तीन जना युवाले बानेश्वरमा उनीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले मुख थुनेको थियो। अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको कार्यक्रममा सम्बोधन गर्न राजधानीको नयाँ बानेश्वरमा पुगेका प्रधानमन्त्रीविरुद्ध तीन जना युवाहरूले नाराबाजी गरेको सार्वजनिक भएको छ।
एक जनाले प्रधानमन्त्रीलाई आतंककारीको आरोप लगाउँदै गर्दा उनलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका प्रहरीले उनको मुख हातले थुनिदिन्छन्। प्रहरीको हात आफ्नो मुखबाट हटाउन बल गरिरहेका ती प्रदर्शनकारीको मुख फेरि अर्का प्रहरीले थुनिदिन्छन्।
प्रहरीले बैंकको ब्याजदरको विरोध गरिरहेका अर्का युवाको पनि मुख थुन्दै आफ्नो गाडीमा राख्छ। नाराबाजी गर्नेमध्ये एक जनाले बैंकको ब्याज कम गर्न माग गरिरहेको सामाजिक सञ्जालमा राखिएका भिडियोहरूमा सुनिन्छ। उनीहरूमध्ये एक जनाले मुख थुनिएको भन्दै हामी अपराधी होरु मान्छे मार्न आएको होरु भन्दै प्रश्न गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ।
बुधबार राष्ट्रिय सभाको बैठकमा सांसद डा. विमला राई पौड्यालले मंगलबार प्रधानमन्त्री प्रचण्ड सहभागी कार्यक्रममा केही युवामाथि प्रहरीले बोल्न नदिएर मुख थुन्नुपर्ने कारणबारे सरकारसँग जवाफ दिनुपर्ने बताइन्।
कार्यक्रम स्थलमा प्रहरीले प्रधानमन्त्री प्रचण्डसँग आफ्ना माग राख्दै नाराबाजी गरिरहेका युवाको मुख थुन्नुका साथै उनीहरुलाई पक्राउसमेत गरेको थियो।
उनले प्रधानमन्त्री प्रचण्डले युवाहरु बोल्न खोजेका बेला प्रहरीले उनीहरुको जबर्जस्ती मुख थुनेको र घाँटी ङ्याँकिरहेको देखिएकाले नागरिकले बोल्न पाउने अधिकारमाथि ज्यादती गर्नुको कारण सदनलाई दिनुपर्ने बताइन्।
संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न र बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएकाले मुख थुन्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गर्नुपर्ने माग उनको छ। गृह मन्त्रालय अहिले प्रधानमन्त्री प्रचण्डको जिम्मामा छ।
‘हिजोदेखि सञ्चार जगत् र सामाजिक सञ्जालमा केही युवाहरु बोल्न खोज्दा प्रहरीले जबर्जस्ती मुख थुनेको र घाँटी ङ्याँकिरहेको देखिएको छ। लछारपछार पारिरहेको तस्बिर देखिरहेका छौं। युवाहरुले के बोल्न खोजेका थिए र प्रहरीले त्यस्तो ज्यादती गरेको हो? के प्रधानमन्त्री प्रचण्ड संविधानभन्दा माथि जान खोजेको हो?’ उनले भनिन्।
प्रधानमन्त्री सरिक कार्यक्रममा युवाहरुले आफ्ना माग राख्न खोज्दा प्रहरीले मुख थुनिदिएको विषयलाई लिए प्रचण्डप्रति सामाजिक सञ्जाल खनिएका छन्। प्रजातन्त्रमा बोल्ने, लेख्ने, आफ्ना कुरा राख्ने छुट रहे पनि नागरिकको मुख थुनिदिने प्रधानमन्त्री प्रचण्डको व्यवहार पञ्चायतकालीन राजतन्त्रजस्तो भएको सामाजिक सञ्जालमा व्यक्त गरिएका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डको व्यवहारप्रति इंगित गर्दै मुख थुनेर त के बन्दुकले पनि आवाज थुनिन नसक्ने दाबी गरेका छन्। उनले फेसबुकमार्फत देशभित्रै रोजगारीको वातावरण बनाउन सम्भव रहेको पनि उल्लेख गरेका छन्।
‘चाँडोभन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन तथा देशभित्रै रोजगारी सिर्जनाको वातावरण बनाउनुहोस्, जो सम्भव छ,’ लिङ्देनले भनेका छन्, ‘अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन्। जो तपाईं स्वयंलाई सबैभन्दा राम्रो थाहा छ।’
अध्यक्ष लिङ्देनले भनेका छन्, ‘हामीले गणतन्त्र ल्यायौं, संघीयता ल्यायौं, धर्म निरपेक्षता ल्यायौं र त सबैले बोल्न पाएका छौं भन्नुहुने कमरेड पुष्पकमल दाहाल प्रचण्ड, हेर्नुहोस् त हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो?’
एमाले नेता भीम रावलले जनताको मुख थुन्ने तथा देश, विदेशलाई हेर्ने आफ्नै विवेकको आँखा थुन्ने तर दलाल पुँजीपति र बाह्य हस्तक्षेपकारीहरूलाई देश, संस्कृति र राज्यमा दाइँ गर्न खुला छोड्ने! यस्तो कुबुध्दि कसले सिकायो? भनेर सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रचण्डप्रति कटाक्ष गरेका छन्।
माओवादी र स्वयं प्रचण्ड निकट लेखक तथा विचारक खगेन्द्र संग्रौलाले समेत प्रधानमन्त्रीको व्यवहारलाई लिएर कटाक्ष गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शासकको आलोचना र कटाक्ष गर्दा वा मुर्दावाद भन्दा उत्तर कोरिया, साउदी अरेबिया आदिमा मुख थुन्छन् भन्ने सुन्याथें। उत्तर र साउदीलाई गुरु थापेर यता हाम्रोमा पनि थाले त हाव मुख थुन्न। मर्ने बेलाँ कमिलाको प्वाँख पलाको भन्नु रे क्या!
प्रधानमन्त्री प्रचण्डले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका लागि १० वर्षसम्म जनयुद्ध छेडिएको बताए पनि आफू कार्यकारी रहेकै बेला जनताका आवाजमाथि बन्देज लगाएको देखिएको छ।
आफूविरुद्ध नाराबाजी गर्ने तीन युवकमाथि प्रधानमन्त्री प्रचण्डले सम्हालिरहेको गृह मन्त्रालयले अभद्र व्यवहारमा मुद्दा चलाउने निर्णय गरेको छ। प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीनैजनालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ परेकाहरुलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। पक्राउ पर्नेहरु सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का हुन्।