आइतबार भएको स्ववियु निर्वाचनको नतिजा आउने क्रम जारी छ। अपराह्न ४ बजेसम्म मतदान भएपछि धेरैजसो क्याम्पसमा साँझदेखि नै गणना सुरु भएको थियो।
त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु चुनाव भएको हो। काठमाडौं उपत्यकाभित्रका ७ क्याम्पसमा भने आइतबार चुनाव हुन सकेन। काठमाडौंको त्रिचन्द्र क्याम्पस, अमृत साइन्स क्याम्पस (अस्कल), प्रदर्शनीमार्गस्थित रत्नराज्य र विश्वभाषा, नेपाल कमर्स क्याम्पस मीनभवन, कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र ललितपुरको पाटन क्याम्पसमा स्ववियु चुनाव नभएको हो। काठमाडौं उपत्यका बाहिर केही क्याम्पसमा विवाद हुँदा स्ववियु चुनाव स्थगित पनि भएका छन्।
आइतबार रातिसम्म केही क्याम्पसको नतिजा आएको छ। ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्वियुका विराज अर्याल स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा विजयी भएका छन्। त्यहाँ विद्युतीय मतदान भएको थियो।
यहाँ अर्यालले अखिल क्रान्तिकारीका अजयकुमार मण्डललाई ३० मतले हराएका हुन्। त्यसैगरी यहाँ नेविसंघबाट विद्रोह गरेका शंकर पन्थी र स्वतन्त्रबाट युरिका वन तथा नविन खनाल सभापतिका लागि प्रतिस्पर्धामा थिए।
२६ सय ९९ मतदाता रहेकोमा यहाँ २३ सय ४१ जनाले मतदान गरेका थिए। इन्जिनियरिङ पढाइ हुने यहाँ विद्युतीय मेसिनको प्रयोग हुँदा मतदान पनि चाँडो भएको थियो।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा सभापति विजयी भएका छन्। आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ओझाले ९६२ मत ल्याए।
उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत ल्याए। नेविसंघका ओझा ३३१ मतको अग्रतासहित विजयी भएका हुन्। यहाँ १३ वटा विद्युतीय मेशिन राखिएको थियो। यहाँ कुल मतदाता ३४ सय ४ रहेकामा २ हजार ७५ मत खसेको थियो।
काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ। नेविसंघका पुष्कर विक्रम शाही ६१९ मतसहित विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रविन थापाले ३७६ मत पाए भने अखिल क्रान्तिकारीका स्पन्दन थापा क्षेत्रीले ३३८ मत पाएका छन्।