काठमाडौं- उपराष्ट्रपतिमा निर्वाचित भएका रामसहाय प्रसाद यादवले पार्टीको जिम्मेवारी र सांसद पदबाट राजीनामा दिएका छन्।
चैत ३ मा भएको निर्वाचनबाट यादव उपराष्ट्रपतिमा निर्वाचित भएका थिए। सोहीकारण ५ चैतमा पार्टी अध्यक्ष र सभामुखलाई छुट्टाछुट्टै पत्र लेखेर यादवले राजीनामा दिएका हुन्।
जसपाका अध्यक्षलाई सम्बोधन गर्दै उनले पार्टीको साधारणसदस्यलगायत सम्पूर्ण जिम्मेवारीबाट राजीनामा भएको राजीनामा पत्र दिएका छन्।
त्यस्तै प्रतिनिधिसभाको सभामुखलाई सम्बोधन गरिएको उनको अर्को पत्रमा आफू उपराष्ट्रपतिमा निर्वाचित भएको र त्यसपछि प्रतिनिधिसभा सदस्यको पद स्वतः रिक्त हुने भएकाले त्यसको व्यहोरा जानकारी गराइएको उल्लेख छ।