काठमाडौं– शुक्रबार तेस्रो उपराष्ट्रपति पदको निर्वाचनका लागि भएको मतदान समापन भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको हो।
३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेको निर्वाचन आयोगले बताएको छ। बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेपछि सम्पन्न भएको हो। केही बेरमै सोही स्थलमा मतगणना प्रारम्भ हुने र आजै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र दिने तयारी रहेको आयोगले जनाएको छ।
नयाँ उपराष्ट्रपतिका लागि जसपाका रामसहायप्रसाद यादव, एमालेका अष्टलक्ष्मी शाक्य र जनमत पार्टीका ममता झा उम्मेदवार चुनावी मैदानमा रहेका छन्। उपराष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुन्छ।
निर्वाचनमा संघीय संसद्का ३३२ सांसद र प्रदेशसभाका ५५० प्रदेशसभा सदस्य मतदाता रहेका छन्। संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको छ।
राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ। उपराष्ट्रपति मर्यादाका हिसाबले राज्यको दोस्रो माथिल्लो पद हो। नेपालको संविधानमा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ।
यसैगरी दुई पटक उपराष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन नसक्ने संवैधानिक प्रावधान छ।