काठमाडौं– एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले दस दलीय गठबन्धन गरेर उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार उठाइनु प्रजातन्त्र नभई साँठगाँठवाला ‘सिस्टम’ भएको दाबी गरेका छन्।
शुक्रबार संघीय संसद भवन नयाँबानेश्वरमा उपराष्ट्रपतिलाई मतदान गरेपछि पत्रकारसँग ओलीले यस्तो आरोप लगाएका हुन्।
उनले भने, ‘यो डेमोक्रेटिक होइन, साँठगाँठवाला सिस्टम हो। दस दलीय गठबन्धन साँठगाँठ गरेर अघि बढेकाले यसलाई प्रजातान्त्रिक निर्वाचन भन्न मिल्दैन।’
अध्यक्ष ओलीले प्रतिपक्षमा बस्दैमा राजनीति नसकिने सुनाए। संक्रमणकालीन न्यायसम्बन्धी व्यवस्थाको कानुनबारे एमालेले संसद्मा आफ्ना कुरा राख्ने उनको भनाइ छ।
ओलीले गत २५ फागुनको राष्ट्रपति निर्वाचनपछि कांग्रेससँग सहकार्य हुन सक्ने भनेर दिएको अभिव्यक्तिलाई कांग्रेस महामन्त्री गगन थापाले बढाइचढाइ गरेको आरोप लगाए।
ओलीले कांग्रेससँग सहकार्य हुन सक्ने बताएलगत्तै महामन्त्री थापाले २०८४ सम्म त्यो सम्भव नभएको जिकिर गरेका थिए।
उनले प्रजातान्त्रिक व्यवस्थाको निर्वाचनमा हारजित हुने हुँदा त्यसलाई स्वाभाविक रुपमा लिनुपर्ने औंल्याए।