काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तारुढ जनमत पार्टीबाट उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार रहेकी ममता झालाई मतदान गर्ने भएको छ।
शुक्रबार पार्टी मुख्यालय बसन्धुरामा बसेको बैठकमा झालाई मत दिने विषयमा पार्टी नेताहरुबीच समझदारी भएको हो।
राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई भोट दिएको रास्वपाले उपराष्ट्रपति निर्वाचनमा भने गठबन्धनका उम्मेदवार रामसहाय यादवको सट्टा सत्तारुढ जनमत पार्टीबाट प्रत्यासी झालाई मत दिने भएको हो।
उपराष्ट्रपति चयनका लागि यतिबेला संघीय संसद् भवन बानेश्वर परिसरमा मतदान भइरहेको छ। उपराष्ट्रपति एमालेबाट प्रत्यासी अष्टलक्ष्मी शाक्यलाई मत दिने आकलन विपरीत रास्वपाले जनमत पार्टीकी उम्मेदवारलाई मत दिने भएको हो।
यद्यपि बैठकमा केही नेताहरूबाट मतदानमा सहभागी हुन नहुने मत व्यक्त भएको बुझिएको छ। निर्वाचन आयोगको आचारसंहिताका कारण रास्वपाले यस विषयमा औपचारिक निर्णय सार्वजनिक भने गरेको छैन।