नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गबाट पूर्व-पश्चिम यात्रा गर्ने बताएका छन्।
बिहीबार नेपाल ल क्याम्पसमा पढ्ने विद्यार्थीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले वैशाखको मध्यदेखि जेठको मध्यसम्म पूर्वदेखि पश्चिमसम्म यात्रा गर्ने आफ्नो योजना रहेको सुनाएका हुन्।
पहाडी क्षेत्र जोड्दै पाँचथरदेखि डडेल्धुरासम्म मध्यपहाडी राजमार्ग निर्माण भइरहेको छ। तर हालसम्म राजमार्गको निर्माण भने पूरा भएको छैन।
कार्यक्रममा ओलीले नेपालको पहिलो प्रधानन्यायाधीश जुद्धशमशेर राणाका माहिला छोरा भएको बताए। अध्यक्ष ओलीले कतिपयले हरिप्रसाद प्रधान पहिलो प्रधानन्यायाधीश भन्ने गरे पनि त्यो गलत रहेको तर्क गरे।
‘नेपालको पहिलो प्रधानन्यायाधीशका लागि मोहनशमशेर र जुद्धशमशेरका माइला छोराबीच चुनाव भयो। त्यो चुनावमा पहिलो प्रधानन्यायाधीश जुद्धशमशेरका छोरा प्रधानन्यायाधीश चुनिए। २००७ सालको क्रान्तिसम्म आइपुग्दा १३ वटा अपिल कोट र ५७ वटा जिल्ला अदालत स्थापना भएका थिए,' ओलिले भने।
उनले दार्जिलिङमा वकालती पेसा गरेर बसेका भारतीय नागरिक हरिप्रसाद प्रधानलाई नेपाल ल्याएर संविधान संशोधन गरेर उनलाई नै प्रधानन्यायाधीशमा नियुक्त गरिएको बताए। उनले २००७ सालपछि विदेशीलाई प्रधानन्यायाधीश बनाउने काम गरिएको भन्दै त्यो काम बीपी कोइरालासँग घनिष्ठता भएकाले गैरनेपालीलाई प्रधानन्यायाधीश बनाइएको तर्क गरे।