काठमाडौं– निर्वाचन आयोगले नेपाली कांग्रेसलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।
जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय सार्वजनिक गरेपछि कांग्रेसलाई स्पष्टीकरण सोधिएको हो।
उपराष्ट्रपति निर्वाचनका लागि आयोगले मंगलबार रातीदेखि मौन अवधि घोषणा गरिसकेको छ।
बुधबार सानेपास्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन बैठकले जसपा उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको थियो।
जसपालाई उपराष्ट्रपतिमा मत दिन आग्रहसहितको निर्णय पार्टी प्रवक्ता प्रकाशशरण महतले पत्रकारसँग सार्वजनिक गरेका थिए।
निर्णय सार्वजनिक भएपछि कांग्रेससँग स्पष्टीकरण सोधिएको आयोगका को प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले बताए।
आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै ४८ घण्टा अगाडि मौन अवधि जारी भएको जानकारी गराएको थियो।
‘४८ घन्टा अगाडि कसैलाई मत माग्न नहुने, प्रचारप्रसार हुने गतिविधि गर्न नहुने भन्ने छ। यस समयमा सञ्चार माध्यममा आएका समाचारअनुसार बैठक बसेर उम्मेदवारलाई मत दिने भनी गरिएको निर्णय हो कि होइन? हो भने उक्त निर्णयको प्रतिवेदनसहित स्पष्टीकरण दिनुहोला’, आयोगले कांग्रेसलाई सोधेको स्पष्टीकरणमा भनिएको छ।
३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ। आयोगले मौन अवधिमा प्रचार–प्रसार, छलफल, मत माग्न, सभा, भेला, गोष्ठीलगायत गर्न निषेध गरेको छ।