तनहुँ जिल्लामै पहिलो पटक सञ्चालनमा आएको कोसेली घरमा वनजंगलमा पाइने गिठाभ्याकुर र सिस्नोदेखि कारागारका कैदीबन्दीले उत्पादन गरेका मुढा बिक्री वितरणका लागि राखिएको छ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तनहुँ महिला उद्यमी समिति तनहुँले सञ्चालनमा ल्याएको कोसेली घरमा वनजंगलमा पाइने गिठा भ्याकुरका साथै घरेलु उत्पादन बिक्री वितरणका लागि राखिएको हो।
महिला उद्यमीलाई उद्यमशील बनाउने उद्देश्यसहित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, पर्यटन तथा उद्योग कार्यालय र व्यास नगरपालिकाको सहयोगमा कोसेली घर सञ्चालनमा ल्याइएको समितिकी अध्यक्ष कल्पना गौलीले बताइन्। जिल्लाभरका महिला उद्यमीले उत्पादन गरेका सामग्री समितिले खरिद गरी कोसेली घरमा राखेको गौलीले बताइन्। 'जिल्लाका आठवटा पालिकामा रहनुभएका महिला उद्यमीबाट सामग्री खरिद गरी ल्याएका छौँ, कसैलाई पनि हालसम्म भुक्तानी दिएका छैनौं,' गौलीले भनिन्।
दशवटै पालिकाका उद्यमीबाट सामान ल्याउने भनिए पनि हाललाई आठवटा पालिकाबाट मात्र सामान ल्याइएको छ। व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाबाट धेरै सामान आएको भन्दै गौलीले भनिन्, 'सबै ठाउँको प्रतिनिधित्व होस् भन्नका लागि केही न केही सामान ल्याएका छौं।'
वनबाट गिठा भ्याकुर टिपेर ल्याउने महिलाहरुका लागि पनि केही आर्थिक उपार्जन होस् भन्ने हेतुले बिक्री वितरणको व्यवस्था मिलाइएको छ। 'अरू केही आर्थिक उपार्जनको माध्यम नभएका महिलालाई पनि राहत होस् भन्नका लागि गिठाभ्याकुर खरिद गरी बिक्री वितरणको व्यवस्था मिलाएका छौं,' गौलीले भने।
कोसेली घरबाट कारागारका कैदीबन्दीले बुनेका मुढा बिक्री वितरणको व्यवस्था मिलाइएको छ। 'कैदीबन्दीले कारागारबाटै पनि मुढा बिक्री गर्दै आउनुभएको छ, तर सबैलाई सहज होस् भनेर हामीले कोसेली घरमा मुढा बिक्रीका लागि राखिदिएका छौं,' गौलीले भनिन्। कारागारका बन्दीहरुले ल्याएको सामानमा नाफा नराखी बिक्री वितरण गरिने जनाइएको छ।
कोसेली घरबाट सामान बिक्री गर्दा आउने नाफाको दुई प्रतिशत रकम उद्यमी राहत कोष स्थापना गरी जम्मा गरिनेछ। उक्त कोषबाट विपन्न महिलालाई भैपरी आउँदा सहयोग गरिनेछ। कोसेली घरमा गिठाभ्याकुर, सिस्नो, मस्यौरा, गुन्द्रुक, कर्कलो, अमलाको अचार, मूलाको चाना, लप्सी, चिउरा, रातो बेसार, धूप, टपरी, कोदो, कुचो, मुढा, ढकिया, झोला, बाँसका विभिन्न सामग्री बिक्री वितरणका लागि राखिएको छ।
महिलाहरुले उत्पादन गरेको सामग्री बिक्री वितरणका लागि कोसेली घरले पुलको काम गर्ने उद्यमी मछिन्द्रादेवी श्रेष्ठले बताइन्। महिला उद्यमी संघकी सदस्य वसुन्धरा घर्तीले कोसेली घरलाई ब्रान्डका रुपमा विकास गरिने बताइन्। जिल्लामा आयोजना हुने कार्यक्रममा मायाको चिनो प्रदान गर्नुपर्दा कोसेली घरका सामग्रीलाई प्राथमिकता दिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताइन्।
कोसेली घर सञ्चालनका लागि पर्यटन तथा उद्योग कार्यालयले भवन निर्माण गरी हस्तान्तरण गरेको छ। कोसेली घर सञ्चालनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सात लाख सहयोग गरिएको छ।
उक्त रकमबाट सजावट, कोसेली घर सञ्चालनका लागि आवश्यक कम्प्युटर, गोदाम घर निर्माण गरिएको छ। कोसेली घर निर्माणका लागि व्यास नगरपालिकाले पनि बिउ पुँजीका रुपमा पाँच लाख सहयोग गर्ने भएको छ।
-रासस