काठमाडौं– सत्ता गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार रहेका रामसहाय प्रसाद यादवले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटेर मत दिन आग्रह गरेका छन्।
जसपाबाट उपराष्ट्रपतिकी आकांक्षी प्रमिला यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि रामसहायले आफूलाई मत दिन आग्रह गर्दै कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एसलगायत दलका शीर्ष नेतृत्वसँग भेटघाट गर्न थालेका हुन्।
सोमबार रामसहायले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाललाई भेटेर मत दिन आग्रह गरे।
भेटमा प्रधानमन्त्री प्रचण्डले यादवलाई आफूहरूको सहयोग रहेको बताएको जसपा नेता एवं सांसद प्रदीप यादवले जानकारी दिए।
प्रचण्डले मंगलबार बस्ने गठबन्धनको बैठकमा रामसहायलाई साझा उम्मेदवारका रुपमा प्रस्ताव राख्ने वचनसमेत दिएको यादवले बताए।
यस्तै, नेकपा एसका अध्यक्ष नेपालले पनि गठबन्धनको साथ र सहयोग रहने बताएका थिए।
रामसहायले आजै कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग उपराष्ट्रपतिमा मत माग्दै भेट्ने बताइएको छ।
उपराष्ट्रपति एमालेले अष्टलक्ष्मी शाक्य र गठबन्धनकै अर्को घटक जनमुक्ति पार्टीले ममता झालाई अगाडि सारेको छ।
प्रमिलाले उपराष्ट्रपतिमा जसपाबाटै उम्मेदवार रहेका सांसद रामसहाय यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन्।