काठमाडौं– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पञ्चायतकालीन समय प्रजातन्त्र प्राप्तिको लडाइँका क्रममा जेलमा बन्दी जीवन बिताउँदा सँगै रहेका साथीहरूलाई सपथ कार्यक्रममा निम्तो गरेका छन्।
सोमबार शीतलनिवासमा दिउँसो १ बजे सपथ लिँदै गरेका राष्ट्रपति पौडेलले आफूसँग बन्दी जीवन बिताएका राजनीतिककर्मीलाई सम्झिएका हुन्।
पञ्चायतकालीन समय १३ वर्ष र प्रजातन्त्र प्राप्तिपछि तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा १ वर्ष गरी करिब १४ वर्ष राजनीतिक बन्दी जीवन बिताएका राष्ट्रपति पौडेलले दुःखका बेला खुसी बाँडेका साथीहरूलाई सम्झिएका हुन्।
नवनिर्वाचित राष्ट्रपति पौडेलको निजी सचिवालयका अनुसार सपथ कार्यक्रममा इन्दु शर्मा, गोविन्द कँडेल, रघुराम शर्मालाई आमन्त्रण गरिएको छ। उनीहरू सबै पौडेलसँग बन्दी जीवन बिताएका राजनीतिककर्मी हुन्।
बागलुङ कारगारमा बन्दी जीवन बिताउँदा दूध पु¥याउने डिलप्रसाद सापकोटा (सापकोटा बाजे) लाई पनि राष्ट्रपति पौडेलले सपथ कार्यक्रममा आउन निम्तो दिएका छन्। सापकोटा बाजेलाई बागलुङबाटै बोलाइएको हो ।
सापकोटा बाजेले २०४६ मा जेलमा रहँदा पौडेलसहितका नेतालाई दूध बाँडेर सेवा गरेका थिए।
यस्तै, राष्ट्रपति पौडेलले डा. मीनेन्द्र रिजाल, सुजाता कोइराला, कृष्णप्रसाद सिटौला, अन्जना भण्डारी, जगदीश शर्मा, डिलप्रसाद सापकोटा, यज्ञश्वर पोखरेल, रामप्रसाद कसुला, माथवरसिं बस्नेत, लोकनाथ आचार्य, अशोक अग्रवाल, तीर्थराम डंगोल, भवेश्वर गुरुङ, वीरेन्द्रभक्त श्रेष्ठ, इन्दु शर्मा पौडेल, गोविन्द कँडेल बागलुङ, गोपाल पराजुली तनहुँ, लोकनाथ आचार्य, अशोक अग्रवाल, दिव्यकुमार श्रेष्ठ, उद्धव पौडेल, काठमाडौं, अमरराज कैनीलगायतलाई पनि सपथका लागि निम्तो गरेका छन्।
शीतलनिवासमा हुने सपथ कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति, प्रधानमन्त्रीसहितको राज्यका विशिष्ट व्यक्तिलाई राष्ट्रपति कार्यालयले नै निम्तो गरेको बताइएको छ।