काठमाडौं– साढे ७ वर्षदेखि सरकारी आवास र कार्यालय शीतलनिवासमा रहँदै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो २ बजेसम्म राष्ट्रपति कार्यालय छाड्ने भएकी छन्। दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीको दोस्रो कार्यकाल २८ फागुनमा सकिएसँगै सरकारी निवास छाड्न लागेकी हुन्।
भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले आज दिउँसो २ बजेसम्म राष्ट्रपति भण्डारीले शीतलनिवास छाड्ने बताएका हुन्। उनले भने, ‘नवनिर्वाचित राष्ट्रपति (रामचन्द्र पौडेल) को सपथ दिउँसो १ बजे छ, सवा १ सम्म सपथ कार्यक्रम सकिएला। त्यसैले उहाँ भण्डारी) १ देखि २ बजेको बीचमा सर्नुहुन्छ होला।’
आजै नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सर्वोच्च पदको सपथ लिँदै छन्। पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सपथ खुवाउनेछन्।
राष्ट्रपति भण्डारीले आजै शीतलनिवास छाड्ने निश्चित भए पनि बूढानीलकण्ठस्थित उनको निजी निवास मर्मत जारी छ। समाचारअनुसार भण्डारी आफ्नी छोरीको घर बालुवाटार जाँदै छन्।
राष्ट्रपति भण्डारी दुई कार्यकालसहित शीतलनिवासमा ७ वर्ष ४ महिना बसिन्। भण्डारी संविधान घोषणापछि ११ कात्तिक २०७२ मा पहिलो पटक राष्ट्रपति बनेकी थिइन्। पहिलो कार्यकाल सकिएपछि उनी दोस्रो पटक २९ फागुन २०७४ मा पुनः राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।
नवनिर्वाचित राष्ट्रपति पौडेल आजै बोहराटारमा रहेको आफ्नो घरबाट सरकारी आवास शीतलनिवास सर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।