काठमाडौं– पद तथा गोपनीयताको सपथ लिनु एक दिनअघि मात्रै नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको संलग्नता त्याग गरेका छन्। राष्ट्रपति निर्वाचित भएपछि दलमा आबद्ध हुन नहुने प्रावधानअनुसार पौडेलले कांग्रेससँगको संलग्नता परित्याग गरेका हु्न्।
राष्ट्रपति पौडेलले पार्टीको कुनै पनि सांगठनिक संरचनामा नरहने घोषणा गरेर केन्द्रीय कार्यालयमा पत्र पठाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार सपथ लिँदै छन्। त्यसका लागि राष्ट्रपति कार्यालय शीतलनिवासले सोमबार दिउँसो १ बजे विशेष समारोह आयोजना गर्नेछ।
नेपालको संविधानमा राष्ट्रपतिले प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको सपथ लिनुपर्ने व्यवस्था छ। पौडेललाई राष्ट्रपतिका रुपमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको सपथ खुवाउनेछन्।