आइतबार, असार ८, २०८२

नागरिक स्तरको विरोधपछि 'अति विशिष्ट'हरूको सवारी व्यवस्थित बनाइँदै

राष्ट्रपति भण्डारी सवारी हुँदा तामझामसहितको सुरक्षा भएको र सर्वसाधारणलाई दुःख दिइएको आरोप लगाउने उनै रामचन्द्रले आफैं चुनिएपछि हेरेनन् सर्वसाधारणको सास्ती।
 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

काठमाडौं– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल गत बिहीबार पशुपतिनाथ दर्शनमा जाँदा सर्वसाधारणलाई बाटोमा हिँड्न रोक र यातायात अवरुद्ध पारिएपछि आलोचित बने। नवनिर्वाचित राष्ट्रपति पौडेलले पनि निवर्तमान हुनै लागेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई पछ्याएको भनेर उनीमाथि सामाजिक सञ्जाल र सर्वसाधारणले गर्नुसम्म गाली गरिरहेका छन्।

राष्ट्रपति भण्डारी सवारी हुँदा तामझामसहितको सुरक्षा बन्दोबस्ती भएको र सर्वसाधारणलाई दुःख दिइएको आरोप उनै पौडेलले लगाउँदै आएका थिए। यति मात्र होइन, कांग्रेसका ठूलाबडा नेताहरूले समेत सवारीलाई लिएर राष्ट्रपति भण्डारीमाथि कटाक्ष गर्दै आएका छन्।

तर बिहीबार नवनिर्वाचित राष्ट्रपति पौडेल कार्यालय समय पारेर पशुपतिनाथ दर्शनमा जाँदा गौशाला, चावहिल, मित्रपार्क क्षेत्रमा गाडीको लाइन लम्बेतान देखिन्थ्यो। सर्वसाधारणलाई हिँड्नसमेत सुरक्षाकर्मीले अवरोध गरिरहेका थिए।

पौडेलले २५ फागुनको राष्ट्रपति निर्वाचनका बेला र मनोनयन पत्र दाखिला गर्दाको समय राष्ट्रप्रमुखमा निर्वाचित भए कहीँकतै जाँदा सर्वसाधारणको हिँडाइ, डुलाइ र सवारी साधन नरोक्ने हाकाहाकी बताएका थिए। तर राष्ट्रपति निर्वाचित हुनासाथ पौडेलले व्यक्त गरेको प्रतिबद्धता कार्यान्वयन हुनुको साटो सवारीका क्रममा सर्वसाधारणलाई हैरानी दिन थालिएको छ। 

राष्ट्रपति भण्डारी सवारी हुँदा तामझामसहितको सुरक्षा भएको र सर्वसाधारणलाई दुःख दिइएको आरोप लगाउने उनै रामचन्द्रले आफैं चुनिएपछि हेरेनन् सर्वसाधारणको सास्ती।

सवारी चलाइँदा सुरक्षा सावधानी अपनाइने भए पनि सर्वसाधारणको दैनिकीलाई कष्टकर बनाउने गरी सुरक्षाकर्मीबाट हुने गरेको व्यवहारकै कारण राष्ट्रपतिहरू आलोचनाको सिकार भइरहेका छन्। राजनीतिक लाभहानिका लागि निर्वाचित हुनुअघि बोलेको विषयलाई लिएर उनीहरूमाथि कटाक्ष गरिँदै आएको छ। 

हुन त, यसअघि गत माघमा परेको सरस्वती पूजाको वसन्त श्रवणमा हनुमानढोका गएर फिर्ती हुँदा लैनचौरमा राष्ट्रपति भण्डारीमाथि रोकिएका सवारी साधन र सर्वसाधारणले हुटिङ गरेका थिए। त्यसपछि विशिष्ट र अति विशिष्टहरूको सवारीलाई विवादरहित बनाइने सूचना गृह मन्त्रालयले निकालेको थियो। तर अहिलेसम्म त्यसबारे कहीँकतै सुधार भएको देखिँदैन। बरु राष्ट्रपतिको सवारीको नाममा सर्वसाधारणमाथि सुरक्षाकर्मीले कडा निगरानी गर्दै आएका छन्।

आज मात्रै गृह मन्त्रालयले सवारी व्यवस्थापन सुरक्षा कार्यविधि परिमार्जन गरिने बताएको छ, त्यो पनि सर्वसाधारणबाट ठूलो आलोचना भएपछि। अति विशिष्ट र विशिष्ट पदाधिकारीको सवारीका कारण सडकमा हुने अवरोध र सर्वसाधारणले झेल्दै आएको समस्याका कारण बढ्दो जनआक्रोशलाई दृष्टिगत गर्दै कार्यविधि परिमार्जन तयारी गरिएको हो। 

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतको आउजाउका समयमा हुने अन्य सवारीसाधन रोकावटका कारण सर्वसाधारणले अनावश्यक दुःख र सास्ती झेल्नु परेपछि जनस्तरमा आक्रोश बढेकाले कार्यविधिमा आवश्यक परिमार्जन गर्न प्रस्ताव मन्त्रिपरिषद्मा स्वीकृतिका लागि लैजाने तयारी भइरहेको गृहका मन्त्रालयका प्रवक्ता एवं सहसाचव जितेन्द्र बस्नेतले बताए।

नवनिर्वाचित राष्ट्रपति पौडेलले आफ्नो सवारीका कारण सर्वसाधारणलाई कुनै दुःख–कष्ट नहोस् र अनावश्यक तामझाम गर्नु आवश्यक नभएको भन्दै सोहीअनुसार व्यवस्था गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिइसकेको उनको दाबी छ। सोहीअनुसार कार्यविधि संशोधन तयारी भएको प्रवक्ता बस्नेतले बताए। 

उनले भने, ‘कार्यविधि संशोधन छिट्टै हुन्छ। त्यसपछि विशिष्ट पदाधिकारीको सवारी समयमा सर्वसाधारणले दुःख झेल्नुपर्ने छैन।’ विशिष्ट पदाधिकारीको सवारीलाई राजकीय सवारी, कार्यालयको सवारी, निजी सवारी, औपचारिक सवारी र अनौपचारिक सवारी भनी सवारी प्रयोजनका आधारमा सवारी व्यवस्थापन तयारी गर्न लागिएको उनले जानकारी दिए।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलगायत उच्च पदाधिकारीको निवास र व्यक्तिगत सुरक्षामा नेपाली सेनासमेत खटिने गरेको छ भने उनीहरूको सवारी व्यवस्थापनमा गृह मन्त्रालय मातहतका सुरक्षा निकाय खटिँदै आएका छन्।
यसरी व्यवस्था गर्दा सकेसम्म प्रमुख मार्गलाई कम असर पर्ने गरी वैकल्पिक मार्ग प्रयोग गरिनेसमेत संशोधित कार्यविधिमा उल्लेख छ। प्रवक्ता बस्नेतले सबै व्यवस्था गर्दा विशिष्ट पदाधिकारीको सुरक्षा र मर्यादालाई पनि उत्तिकै ध्यान दिइने स्पष्ट पारे।

प्रकाशित: Mar 12, 2023| 12:52 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...