काठमाडौं- निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी खारेज गर्न अस्वीकार गरेको छ। यादवको उम्मेदवारी कायम रहने भएको हो।
खस आर्य समुदायभन्दा मधेसी समुदायका पुरुष उम्मेदवार उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको भन्न नमिल्ने हुँदा उम्मेदवार अष्टलक्ष्मी शाक्य र ममता झाको दाबी विरोध दुवै उजुरीको दाबी पुग्न नसक्ने निर्वाचन आयोगको भनाइ छ।
भावी उपराष्ट्रपति पदका लागि यादवसहित चार जना प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगले मनोनयन फिर्ता लिन चाहने उपराष्ट्रपतिका उम्मेदवारलाई आज आइतबार अपराह्न ४ बजेसम्मको समय दिएको छ।
उपराष्ट्रपति चयनका लागि चैत ३ गते बिहान १० बजेदेखि ३ बजेसम्म संघीय संसद् भवन परिसर नयाँ बानेश्वरमा मतदान हुँदैछ। राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाका गरी ८८२ जना मतदाताको नाम निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ।
हालका उपराष्ट्रपति नन्दबहादुर पुनको दोस्रो कार्यकाल चैत ३ गतेबाट सकिँदै छ।