आइतबार, असार ८, २०८२

ब्युँतिएला प्रचण्डको समाजवादी मोर्चा? 

सत्ताकै लागि क्याम्प बदलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको टुटेफुटेका कम्युनिस्टलाई एकै ठाउँ ल्याई समाजवादी मोर्चा बनाएर कांग्रेससँग ‘बार्गेनिङ पावर’ बढाउने रणनीति।
 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

काठमाडौं– एमालेसँग सात दलीय गठबन्धन गरेर प्रधानमन्त्री बन्न सफल भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल राजनीतिक रुपमा अस्थिर देखिँदै आएका छन्। एमालेसँगको सत्ता साझेदारी त्यागेर कांग्रेससहितको आठ दलीय गठबन्धनमा अटाएका प्रचण्डले ४ मंसिर निर्वाचनअघिको समाजवादी मोर्चाको रटान पुनः सार्वजनिक गरेका छन्।

प्रचण्डले संघीय र प्रदेशसभा निर्वाचन वरपरको समय नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टी अध्यक्ष बाबुराम भट्टराईसँग समाजवादी मोर्चा निर्माणबारे पटक–पटक बैठक र छलफलसमेत चलाए। त्यतिखेर निर्वाचनका कारण समयावधि कम भएकाले समाजवादी मोर्चा गठन नगरिएको प्रचण्ड आफैंले बताएका थिए।

४ मंसिरको निर्वाचनपछि एमाले र कांग्रेससँग ‘बार्गेनिङ पावर’ बढाएर सत्तामा रहिरहन प्रचण्डले शनिबार पुनः समाजवादी मोर्चाको पासा फ्याँकेको बुझ्न कठिन छैन। एमालेबाहेकका सानामसिना कम्युनिस्ट पार्टीहरूलाई गोलबद्ध गरेर नेकपा माओवादी केन्द्रलाई सत्ताबाट विमुख हुन नदिने गरी उनले पुनः समाजवादी मोर्चाको कल्पना गरेका हुन सक्छन्। आठ दलीय गठबन्धन बने पनि कांग्रेस सरकारमा गइनसकेको र एमालेसँगको पुरानो (९ पुस) सम्बन्ध धुमिल भएपछि यतिबेला प्रचण्डले समाजवादी मोर्चा बनाएर तेस्रो शक्तिका रुपमा नेकपा माओवादी केन्द्रलाई अगाडि बढाउन चाहेको देखिन्छ।

यसअघि २६ माघमा पनि प्रचण्डले नेकपा एस, नेसपा, जसपालगायतका नेताहरूसँग समाजवादी मोर्चा निर्माण गरेर जानेबारे बालुवाटारमा लामै छलफल गरेका थिए। शनिबार मात्रै प्रचण्डले केही दिनभित्रै समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएर पुनः आफू सत्ताको सर्वेसर्वा हुन चाहेको देखिन्छ।

पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार मधेस प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टको बृहत्तर एकताका निम्ति बहस सुरु गर्ने बताएका छन्। ‘जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्। शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन। शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिको सहकार्य र एकता जरुरी छ,’ प्रचण्डले भने। 

समाजवादी मोर्चा बनेपछि त्यसले कम्युनिस्ट पार्टीबीचको एकताका निम्ति नयाँ आधार सिर्जना गर्ने र त्यसको पहल माओवादीले नै लिने उनको ठोकुवा छ। प्रधानमन्त्री प्रचण्डले एमालेभित्र ठूलो पंक्ति वामपन्थीको एकताका पक्षमा रहेको दाबीसमेत गरे। प्रचण्डले भने, ‘एमालेभित्र हिजोको नेकपा फेरि पुनःस्थापित गर्नुपर्छ भन्ने मत पनि  छ। त्यो मत क्रान्तिको हितमा छ, कम्युनिस्ट आन्दोलनको हितमा छ। त्यसैले हामीले नै एकताको अग्रसरता लिनुपर्छ।’

तर प्रचण्डले भनेअनुसार सबै कम्युनिस्टलाई एकताबद्ध गरेर समाजवादी मोर्चा बन्ने नै हो भने एमालेलाई निषेध गरिँदा झनै तिक्तता आउन सक्छ। एमालेले माओवादी नचाहने र र माओवादीले एमाले नचाहने अहंका कारण कांग्रेसलाई एकमना सरकारको ढोका उघारित सक्छ। इसका लागि प्रचण्डले समाजवादी मोर्चाको कार्ड सार्वजनिक गरेका हुन सक्छन्।

चुनाव अगाडि नै वाम र समाजवादी पार्टीहरूबीच मोर्चा बनाएर कांग्रेससँग पावर सेयरिङ गर्न खोजेका प्रचण्ड त्यसबेला सफल भएका थिएनन्। तत्कालीन पाँच दलीय गठबन्धनको मुख्य दल कांग्रेसले भाउ नदिएपछि साथ छाडेर एमालेतिर लाग्नासाथ उनी प्रधानमन्त्री भए। कांग्रेसबाट समेत विश्वासको मत पाएका प्रचण्डले यसबीचमा पुरानै गठबन्धनसँग सत्ता साझेदारी गर्ने निर्णय लिएका छन्। सत्ता गठबन्धनमा अरु नयाँ केही दल पनि थपिएका छन्। चुनाव अगाडिको गठबन्धन ब्युताएसँगै प्रचण्डले फेरि समाजवादी मोर्चा गठनको प्रयास गरेका हुन्। 

‘कांग्रेसबाहेकको गठबन्धनमा वाम र समाजवादी मात्रै हुने अवस्थामा समाजवादी मोर्चाको आवश्यकता थिएन। कांग्रेस र कम्युनिस्टको सत्ता समीकरणमा वाम समाजवादी मोर्चाको आवश्यकता हुनु स्वभाविकै हो,’ माओवादीका महासचिव देव गुरुङ भन्छन्। 

द्वन्द्वकालीन विषयलाई लिएर प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि माओवादी धारहरू पनि नजिकिन थालेका छन्। यही बेला वाम समाजवादी मोर्चाको विषय माओवादी केन्द्रले अगाडि सारेको हो। 

द्वन्द्वकालीन मुद्दाकै कारण एकातिर माओवादी मोर्चाको सम्भावना बलियो बनेको छ भने यही जगमा टेकेर नेपालका कम्युनिस्ट शक्तिहरूबीच एकताको पहल सुरु भएको महासचिव गुरुङको दाबी छ। 

सत्ताकै लागि क्याम्प बदलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको टुटेफुटेका कम्युनिस्टलाई एकै ठाउँ ल्याई समाजवादी मोर्चा बनाएर कांग्रेससँग ‘बार्गेनिङ पावर’ बढाउने रणनीति।

गत साता राजधानीमा आयोजित एक कार्यक्रममा तत्कालीन माओवादी सहयात्रीहरू प्रचण्ड, मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव, सिपी गजुरेल, धर्मेन्द्र ओझा लगायतका नेताहरू एकै मञ्चमा उपस्थित भएका थिए। उनीहरूले पछिल्लो पटक माओवादी जनयुद्धको औचित्यसँगै माओवादी विचारधारामाथि नै प्रहार हुन थालेको भन्दै सशक्त प्रतिकार गर्ने बताएका थिए। शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी विषय सत्यनिरुपण तथा मेलमिलापको माध्यमद्वारा टुंगो लगाउनुपर्छ भन्ने उनीहरूको साझा मत छ। यसबारे आजै उनीहरूलेसंयुक्त अपिल गर्दै छन्। 

बृहत् वामपन्थी एकतामार्फत समाजवादको ढोका खोल्नुपर्ने प्रचण्डको मत छ। उनले भने, ‘चाहे पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बंगाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस्। क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ। नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौं। कम्युनिस्टहरूलाई गोलबद्ध गरेर एकै छानामुनि अटाउन समाजवादी मोर्चाको परिकल्पना गरिएको हो।’ 

विचार मिल्नेसँग पार्टी एकता र तत्कालीन मुद्दा मिल्नेसँग मोर्चा निर्माणको प्रयास भइरहेको माओवादी महासचिव एवं कार्यदल सदस्य देव गुरुङले बताए। विचार मिल्नेहरू एक ठाउँमा आउनुको विकल्प नभएको उनको भनाइ छ। गुरुङका अनुसार एकीकृत समाजवादीसँग पार्टी एकता र जसपासँग मोर्चा निर्माणबारे छलफल अघि बढेको छ। 

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच पार्टी एकीकरणका विषयमा यसअघि ४ फागुनमा पनि प्रचण्डले बैठक बसालेका थिए। माओवादी केन्द्रले वाम शक्तिको एकताका लागि पहल गर्दै गर्दा एकीकृत समाजवादी र जसपाले निरन्तर रूपमा आन्तरिक छलफललाई अगाडि बढाएका छन्। जसपाले नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा विचार मिल्ने पार्टीसँग पार्टी एकताका लागि वार्ता समिति बनाएको थियो। श्रेष्ठ संयोजक रहेको समितिमा गोविन्द चौधरी र रकम चेम्जोङ सदस्य थिए। उक्त समितिले अहिलेसम्म कुनै निष्कर्ष दिएको छैन। वैचारिक र सैद्धान्तिक सवालका विषयमा दुई पार्टीबीच कुरा नमिलेपछि एकता प्रक्रिया भाँडिएको हो। 

माओवादी केन्द्रले पनि पुस अन्तिम साता बृहत् वाम एकता र समाजवादी मोर्चा गठनका लागि पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा वार्ता समिति बनाएको छ। समिति सदस्यमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत रहेका छन्। समितिले डा. बाबुराम भट्टराई, एकीकृत समाजवादीलगायत दलसँग एकताका लागि छलफल गरिरहेको भनिए पनि परिणाम हालसम्म बेनतिजा छ। 

नेकपा माओवादी केन्द्रले केही दिनअघि माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकीसँग एकताको निर्णय गरेको छ। माओवादी केन्द्रका महासचिव एवं वार्ता समिति सदस्य गुरुङ छिट्टै सहमति भएकासँग एकता गर्ने र नभएकासँग पनि सहमतिका लागि छलफल चलिरहेको बताउँछन्। पार्टी एकता भइसकेपछि बृहत समाजवादी मोर्चा निर्माणमा सहयोग पुग्ने उनको दाबी छ।

गुरुङले भने, ‘वार्ता समितिको औपचारिक र अनौपचारिक कुराकानी चलिरहेको छ। सोही  आधारमा छिट्टै सहमति भएकासँग एकता गर्ने। कम्युनिस्ट पार्टीसँग कम्युनिस्ट एकतै गर्ने कुरा हो। बाँकी समाजवादी केन्द्र, मोर्चा बनाउने भन्ने छ। प्रधानमन्त्री प्रचण्डले शनिबार पनि सोही विषय उठान गर्नुभएको हो। समाजवादी मोर्चा बनिछाड्छ।’

वाम चिन्तन भएकासँग एकताको कुरा अघि बढेको उनको दाबी छ। नेकपा माओवादी केन्द्रबाट चोइटिइर बाहिरिएकासँग कार्यगत एकताको ठोस प्रस्तावले मूर्त रुप लिँदै गएको महासचिव गुरुङको बुझाइ छ।

केही समयदेखि संयुक्त मोर्चाको रूपमा कार्यक्रम गर्दै आएको ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी, नेत्रविक्रम चन्द विप्लवको नेपाल कम्युनिस्ट पार्टी, आहुतिको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र कर्णजित बुढाथोकीको नेकपा (माओवादी समाजवादी)बीच पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम ल्याएर समाजवादी मोर्चा निर्माणको सहमति अन्तिम चरणमा पुगेको उनको धारणा छ।

प्रकाशित: Mar 12, 2023| 11:58 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...