काठमाडौं– कांग्रेस तत्कालै सरकारमा जानेबारे हालसम्म कुनै निर्णय भइनसकेको उपसभापति पूर्णबहादुर खड्काले बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा मन्त्रिपरिषद् विस्तार हुने भए पनि कांग्रेसले उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै निर्णय लिने उनले बताए।
शुक्रबार ललितपुरको बोडेगाउँस्थित पूर्वप्रधानमन्त्री स्व.कृष्णप्रसाद भट्टराईको आश्रम पुगेका खड्काले यस्तो बताएका हुन्।
उनले उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्रीले विश्वासको मत लिने र त्यसपछिको मन्त्रिपरिषद् विस्तारमा कांग्रेस सत्तारुढ हुन सक्ने औंल्याए। खड्काले भने, ‘उपराष्ट्रपतिको निर्वाचनपछि मन्त्रिपरिषद् विस्तार हुने र कांग्रेस सरकारमा जाने विषय त्यतिबेलै टुंग्याउँछौं।’
हालसम्म कांग्रेस सरकारमा गइनसकेकाले कसको नेतृत्वमा जाने भन्ने विषयमा पार्टीभित्र कुनै छलफल नभएको उनले बताए।