काठमाडौं- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ। बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको रिटको पेसी आजका लागि तोकिएसँगै आज सुनुवाइ हुने भएको हो।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो। २०७३ साल माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा भएका पाँच हजारजनाको हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए।
उक्त अभिव्यक्तिबमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले सर्वोच्चमा रिट दायर गरेका हुन्।
यसअघि, उनीहरूको रिट अदालत प्रशासनबाट दरपीठ भएको थियो। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दरपीठको आदेश शुक्रबार बदर गरेको थियो। दरपीठ आदेश बदर भएसँगै गएको मंगलबार प्रचण्डविरुद्ध अदालतमा रिट दर्ता भएको हो।