काठमाडौं- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा उनलाई आज निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन्।
कार्यक्रममा निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचनको मतपरिणाम घोषणा गरी नेता रामचन्द्र पौडेल निर्वाचित भएको जानकारी गराएका थिए।
सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, निर्वाचन आयोगका आयुक्तहरू, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
आज सम्पन्न राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपति पौडेलले ३३ हजार आठ सय दुई र प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए।
अब नवनिर्वाचित राष्ट्रपतिले प्रधानन्यायाधीशबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन्। वर्तमान राष्ट्र्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल यही २९ फागुनमा सकिँदै छ।