काठमाडौं- प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ बेञ्च बस्न नभ्याएको भनेर स्थगित भएको छ।
प्रचण्डविरुद्धका रिटमाथि बिहीबार सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासबाट सुनुवाइ हुने भनिएको थियो।
आजको सुनुवाइ हेर्न नभ्याउने हुँदै स्थगित भएको रिट निवेदकमध्येका कल्याण बुढाथोकीले बताए। रिटको सुनुवाइका लागि शुक्रबार पेशी तोकिएको उनको भनाइ छ।
१ माघ २०७३ मा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा भएका ५ हजार जनाको हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए। सोही अभिव्यक्तिलाई लिएर जिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले सर्वोच्चमा रिट दायर गरेका हुन्।
यसअघि उनीहरूको रिट अदालत प्रशासनबाट दरपीठ भए पनि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दरपीठको आदेश शुक्रबार बदर गरेको थियो। दरपीठ आदेश बदर भएसँगै गत मंगलबार प्रचण्डविरुद्ध अदालतमा रिट दर्ता भएको हो।