काठमाडौं– २०६२/६३ को जनआन्दोलन र माओवादीको हिंसात्मक जनयुद्धका अगाडि टिक्न नसकेर २३४ वर्षसम्म नेपाललाई शासन गरेको शाह वंशीय राजतन्त्र फालिएपछि गणतन्त्रको प्रतीक स्वरुप राष्ट्रपति निर्वाचन हुन थालेको हो। राजाको छोरा राष्ट्रप्रमुख हुने राजतन्त्रात्मक शासन व्यवस्था हुइँक्याएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा मुलुक प्रवेश गरेपछिको तेस्रो राष्ट्रपतिको निर्वाचनका लागि आज निर्वाचन भइरहेको छ। नेपालमा गणतन्त्रपछि कांग्रेस नेता डा. रामवरण यादवले पहिलो राष्ट्रपतिको कार्यभार सम्हाल्ने अवसर पाएका थिए।
नेपालमा गणतन्त्रपछि हालसम्म राष्ट्रपतिको कार्यकाल दोस्रो पटक हो। पहिलो कार्यकाल यादव र दोस्रो कार्यकालका रुपमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यभार सम्हालिरहेकी छन्। आज भइरहेको मतदानपछि मुलुकले तेस्रो राष्ट्रपति पाउनेछ।
पहिलो राष्ट्रपति यादवकै अभिभावकत्वमा नेपालमा २०७२ मा संविधानसभाबाट संविधान जारी भएको थियो। संविधानसभाबाट जारी भएको संविधानले नेपाललाई ७ प्रदेश, ७७ जिल्ला मुकाम, ७५३ स्थानीय तहमा विभाजित गरेको थियो।
२०७२ को संविधान जारी गर्दै पहिलो राष्ट्रपति डा. रामवरण यादव
२०६२/६३ को जनआन्दोलनको उपलब्धिका रुपमा नयाँ शासन व्यवस्था प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन ४ साउन २०६५ मा भएको थियो। संविधानसभाले राष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था भएबमोजिम गरिएको उक्त निर्वाचनमा संविधानसभामा तत्काल कायम रहेका ५९४ सदस्य मतदाता थिए।
पहिलो निर्वाचनमा केही राजनीतिक दलले भाग नलिएका कारण ५७८ सदस्यले मात्र मतदान गरेका थिए। सोही निर्वाचनमा कांग्रेस नेता डा. यादवले २८३ तथा रामराजाप्रसाद सिंहले २७० मत प्राप्त गरेका थिए।
२०६५ पछि राजाको छोरा राष्ट्रप्रमुख हुने राजतन्त्रात्मक शासन व्यवस्था बदलेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा मुलुक प्रवेश गरेपछिको तेस्रो राष्ट्रपतिका लागि आज निर्वाचन भइरहेको छ। यो निर्वाचनले रामचन्द्र पौडेल वा सुवास नेम्बाङमध्ये एक जनालाई सम्मानित पद राष्ट्रपतिमा निर्वाचित गर्नेछ।
प्रथम चरणमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न नसकेपछि ६ साउन २०६५ मा दोस्रो चरणको निर्वाचन भएको थियो। दोस्रो चरणमा यादवले ३०८ तथा सिंहले २८२ मत पाएका थिए।
संविधानसभा सदस्यमा तत्काल कायम रहेका सदस्यको बहुमत प्राप्त भएपछि यादवलाई नेपालको प्रथम राष्ट्रपति निर्वाचित भएको घोषणा गरिएको थियो।
नेपालको अन्तरिम संविधान, २०६३ मा राजनीतिक सहमतिका आधारमा राष्ट्रपतिको निर्वाचन संविधानसभाले गर्ने व्यवस्था थियो। दलहरूबीच सहमति कायम हुन नसके संविधानसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था थियो।
संविधानसभाबाट नेपालको संविधान जारी भएपछि राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको प्रावधानअनुरूप राष्ट्रपति निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट बहुमतबाट हुने व्यवस्था छ।
सात वर्षे कार्यकाल पूरा गरेर शितलनिवास छाड्न लागेकी वर्तमान राष्ट्रपति भण्डारी
यादवको कार्यकाल सकिएपछि दोस्रो कार्यकालका लागि २९ फागुन २०७४ मा भएको निर्वाचनले एमालेबाट उम्मेदवार रहेकी विद्यादेवी भण्डारीलाई राष्ट्रपतिमा निर्वाचित गरेको थियो। भण्डारी करिब ७ वर्ष बढी राष्ट्रपतिको रुपमा रहिन्।
२०७४ को निर्वाचनमा संघीय संसद् सदस्य ३३४ र प्रदेशसभा सदस्य ५५० गरी कुल ८८४ मतदाता रहेकामा संघीय संसद् सदस्य ३२६ र प्रदेशसभा सदस्य ५३६ गरी जम्मा ७६२ जनाले मतदान गरेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ। उक्त निर्वाचनमा ८ जनाको मत बदर भएको थियो।
संघीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहने कानुनी व्यवस्था भएको उक्त निर्वाचनमा विद्यादेवी भण्डारीलाई ३९ हजार २७५ तथा कुमारी लक्ष्मी राईलाई ११ हजार ७३० मत प्राप्त भएको थियो।
संविधानअनुसार राष्ट्रपतिको निर्वाचन नहुन्जेल २०७४ फागुनसम्म राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। २०७४ को राष्ट्रपति निर्वाचनबाट पुनः भण्डारी नै निर्वाचित भइन्। राष्ट्रपति भण्डारी दुई पटक गरेर ७ वर्षे कार्यकाल सकाएर आगामी ३ चैतदेखि बिदा हुँदै छन्।
राष्ट्रपति भण्डारीको स्थान पूर्ति गर्ने गरी ४ मंसिर २०७९ मा भएको संघीय र प्रदेशसभा निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले बिहीबार नयाँ राष्ट्रपतिका लागि मतदान गरिरहेका छन्। कांग्रेस नेता रामचन्द्र पौडेल नेकपा माओवादी केन्द्रसहित ८ दलको साझा उम्मेदवार रहेका छन् भने एमालेका सुवास नेम्बाङ एक्लै राष्ट्रपतिको उम्मेदवारका रुपमा मैदानमा उत्रिएका छन्।
पौडेल र नेम्बाङ दुवै नेपाली राजनीतिमा अनुभवी, मध्यमार्गी र तुलनात्मक रुपमा नैतिक मूल्यमा खडेरी नलागेका राजनीतिकर्मी र पूर्वसभामुखसमेत हुन्। राष्ट्रपतिका उम्मेदवार बनेका पौडेल प्रतिनिधिसभा र नेम्बाङ संविधानसभाका पूर्वसभामुख हुन्। पौडेल ३ पुस २०५१ देखि ९ चैत २०५५ सम्म प्रतिनिधिसभाको सभामुखको भूमिकामा थिए।
यस्तै, नेम्बाङले १२ साउन २०६५ देखि १४ जेठ २०६९ सम्म संविधानसभाको पहिलो कार्यकाल र ६ फागुन २०७० देखि २७ असोज २०७२ सम्म दोस्रो कार्यकाल सभामुखको जिम्मेवारी सम्हालेका थिए।
मतदान स्थलमा राष्ट्रपतिका उम्मेदवारद्वय पौडेल र नेम्वाङ
मतदातामा संघीय संसद्तर्फ ३३४ र प्रदेशसभातर्फ ५५० जना छन्। तर आयोगले राष्ट्रपतिमा मतदान गर्न कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेको तथा चितवन २ मा सांसद पद रिक्त रहेकाले ८८२ जनाको सूची प्रकाशन गरेको छ। कांग्रेस सांसद चन्द्र भण्डारी उपचारका क्रममा मुम्बईमा छन् भने माओवादीका केन्द्रका सांसद वर्षमान पुन उपचारका लागि चीन गएका छन्। जसपाका एक सांसदको निधन भएको छ। सोही कारण निर्वाचनमा जम्मा ८७९ मतदाता सांसदले मात्रै मतदान गर्ने निर्वाचन अधिकृत महेश शर्मा बताउँछन्। प्रतिनिधिसभामा १२ दलको प्रतिनिधित्व छ। त्यसमध्ये राप्रपा र नेपाल मजदुर किसान पार्टीले राष्ट्रपतिको निर्वाचनमा भाग लिएनन् भने रवि लामिछाने नेतृत्वको रास्वपाले भने भर्खरै कांग्रेसबाट राष्ट्रपतिमा प्रत्यासी पौडेललाई मतदान गर्ने निर्णय गरेको छ।
निर्वाचन आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार आज बिहान १० देखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएको छ। मतदान सकिएपछि आयोगले मतगणना सुरु गरेर आजै मत परिणाम सार्वजनिक गर्नेछ। बेलुकी ७ बजेसम्म तेस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रपतिको घोषणा हुनेछ। नयाँ बानेश्वरस्थित संसद् भवनमा दुईवटा मतदान केन्द्र निर्माण गरिएको छ। आयोगले संघीय संसद् र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतदान केन्द्र निर्माण गरेको छ। आयोगद्वारा प्रकाशित मतदाता नामावलीको अन्तिम सूचीअनुसार ८८२ मतदाताले नयाँ राष्ट्रपतिलाई मतदान गरिरहेका छन्।