काठमाडौं– मुलुकको तेस्रो राष्ट्रपतिका लागि यतिबेला मतदान भइरहेको छ। बिहीबार काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा संघीय र प्रदेशसभा सदस्यले नयाँ राष्ट्रपतिका लागि मतदान गरिरहेका हुन्।
बिहान १० बजे सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ।
राष्ट्रपतिका उम्मेदवार कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्बाङले मतदान गरिसकेका छन्। मतदानपछि दुवै उम्मेदवारले सामूहिक तस्बिर खिचाएका छन्।
सामूहिक तस्बिर खिचाउने क्रममा दुवै उम्मेदवारले हारजितभन्दा पनि लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न राष्ट्रपति निर्वाचनले थप बल पुग्ने विश्वास व्यक्त गरे।
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको परिणाम आजै बेलुकी सार्वजनिक गर्ने कार्यतालिका सार्वजनिक भइसकेको छ।