काठमाडौं– एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्बाङले मतदान गरेका छन्। बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा रहेको मतदान केन्द्रमा उनले केही बेरअघि मतदान गरेका हुन्।
मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्बाङले आफू राष्ट्रपतिमा निर्वाचित भए जनताको अभिभावकको रुपमा काम गर्ने बताए। उनले निर्वाचित भए जनतालाई सास्ती दिने गतिविधि नगर्नेसमेत प्रतिबद्धतासमेत जनाए।
नेम्बाङले भने, ‘राष्ट्रपतिमा निर्वाचित भएपछि मैले सवारीको नाममा जनतालाई सास्ती दिने छैन। सडकमा सवारी जाम तथा हवाई यात्राका क्रममा अकासमा हवाई उडान प्रभावित हुने काम मेरो कार्यकालमा हुने छैन। जनतालाई सास्ती हैन, अभिभावकको महसुस गराउनेछु।’
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ। राष्ट्रपतिका अर्का उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन्।
बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। तेस्रो राष्ट्रपतिका लागि कांग्रेसका पौडेल र एमालेका नेम्बाङ प्रतिस्पर्धामा छन्।