काठमाडौं– मुलुकमा आएका राजनीतिक परिवर्तन उल्टाउने षड्यन्त्र भए त्यसको सशक्त प्रतिवादन गरिने नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताएका छन्।
पूर्वशिक्षामन्त्रीसमेत रहेका पौडेलले बुधबार भिडियो सन्देश जारी गर्दै माओवादीले लडेर ल्याएको व्यवस्था उसैलाई साक्षी राखेर उल्टाउने र देशलाई गृहयद्धतर्फ लैजाने षड्यन्त्र भइरहेको बताएका हुन्।
‘माओवादीलाई नै उभ्याएर देशी–विदेशी शक्तिबाट हामीलाई कमजोर बनाउने खेल भइरहेको छ। त्यसैको संकेतका रुपमा अदालत प्रकरण बुझ्न सकिन्छ। यसको प्रतिवाद गर्छौं।’
१ माघ २०७६ मा प्रचण्डले बोलेको कुरा ‘पोल्टिक’ भाषा भएको दाबी गर्दै जनयुद्धमा मारिएका मान्छेबारेको मुद्दा अदालतले हेर्न नमिल्ने उनले जिकिर गरे। ‘प्रचण्डले त्यतिबेला बोलेको कुरा ‘पोल्टिकल’ भाषा हो। अदालतमा लैजानु गम्भीर त्रुटि हो। यसको राजनीतिक, वैचारिक रुपले सशक्त प्रतिवाद गर्छौं,’ पौडेलले भने।
शान्ति प्रक्रियाका विषय टुंग्याउन टुटेफुटेका माओवादीहरू एकै ठाउँ आउनु विकल्प नभएको उनको भनाइ छ। अहिले प्रचण्ड र माओवादीमाथि षड्यन्त्र गरी राज्यलाई भँड्खालोमा हाल्न देशी विदेशी शक्ति लागिपरेको उनको दाबी छ।
‘माओवादी आन्दोलनमा भएका साथीहरू एक ठाउँ हुनुपर्ने बेला आएको छ। हामी छुट्टिँदा मुद्दा कमजोर भए,’ पौडेलले भने।
विगतमा शान्ति प्रक्रियासँग नजोडिएका प्रतिगामी शक्तिले न्यायलायलाई प्रभावित पार्ने काम भएको उनले आरोप लगाए। ‘शान्ति प्रक्रियामा भूमिकै नभएकाले न्यायालयलाई प्रभावित पार्न खोजेका छन्। बृहत् शान्ति सम्झौता, पछिल्लो परिर्वतन, अहिले संघीय लोकतान्त्रिक गणतन्त्र उनीहरूलाई रुचेको छैन,’ पौडेलले भने।
माओवादी आन्दोलन र तत्कालीन ७ दलबीच भएको सहमति विपरीत केही तत्त्वले अहिलेको प्रणालीको मजा लिइरहेको बताउँदै हिजो भएका सहमतिलाई उल्लंघन गर्नु गम्भीर गल्ती भएको उनको धारणा छ।
सत्य निरुपण तथा मेलमिलाप आयोगले काम गर्न ढिलाइ भइरहेका बेला सहमति भएका मुद्दा उल्टाइनुले देशलाई गृहयुद्धतिर धकेल्न प्रयास भइरहेको उनले दाबी गरे।