नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायका विषयमा अदालतबाट छिनोफानो गर्नु ठीक नहुने बताएका छन्। सिंहदरबारमा मंगलबार बसेको सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलको बैठकपछि उनले यस्तो बताएका हुन्।
लेखकले भने, 'नेपाली कांग्रेस द्वन्द्वका बेलामा भएका सबै घटनाहरु संक्रमणकालीन न्यायकै विधिबाट समाधान गर्नुपर्छ भन्ने पक्षमा छ। त्यसमा केही कमजोरी भएको छ। पीडितहरुले न्याय र परिपूरण पाएका छैनन्।'
उनले यसलाई अदालतबाट फौजदारी न्यायको प्रक्रियाबाट टुंग्याउनु गलत हुने बताए। 'यो विषयमा सर्वोच्च पनि बोलिसकेको छ। त्यसैले संक्रमणकालीन न्यायकै विधिबाट यसको समाधान गर्नुपर्छ। सत्यनिरुपण तथा मेलमिलाप आयोगबाटै द्वन्द्वकालीन मुद्दा टुंगोमा पुर्याउनुपर्छ,' उनले भने।
प्रमुख सचेतक लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतमा मुद्दा पर्नै नहुने भन्ने तर्क पनि ठिक नभएको बताए। उनले भने, ''मुद्दा त पर्छ। मुद्दा पर्नै हुन्न भन्ने होइन। तर यही मुद्दाबारे पनि सर्वोच्च अदालतले द्वन्द्वकालीन मुद्दाको निरुपण हुनुपर्छ भनेको छ। प्रचण्डविरुद्धको मुद्दाको विषय पनि सामान्य फौजदारी कानुनबाट टुंगिने होइन, संक्रमणकालीन न्यायमै जानुपर्छ।'
लेखकले सर्वोच्चको आदेशलाई सकारात्मक रुपमा लिँदै द्वन्द्वकालीन मुद्दा टुंग्याउन ढिलो भएको पनि स्वीकारे। 'यो राज्यको विषय हो। तर न्यायिक निरुपणमा ढिला भएकाले प्रश्न उठिरहेको छ,' उनले भने।