काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो समय राजालाई लिएर सडकमा भइरहेका गतिविधिबारे आफ्नो पार्टी गम्भीर बनेको बताएका छन्।
सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले कुनै पनि प्रकारको अराजकता, गलत क्रियाकलापको पक्षमा आफू नरहेको बताए।'अहिलेको अवस्था राज्य जिम्मेवारीबाट विमुख हुने, देशका प्रमुख राजनीतिक दल, सरकारमा बसेका मानिस नागरिकको सुख सुविधाभन्दा सत्ता केन्द्रित बन्न थालेपछिको अवस्था रहेकाले नागरिक र देशले यस्ता अराजकता बेहोर्नुपर्ने अवस्था सिर्जना हुन थालेको छ,' उनले भने।
अध्यक्ष लिङ्देनले अराजकता र गलत क्रियाकलापको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी नरहेको बताउँदै आफ्नो पार्टीले यस प्रकारको क्रियाकलापको कहिल्यै पनि समर्थन नगर्ने प्रतिबद्धता जनाए।
‘हामी कुनै पनि प्रकारको अराजकता, गलत क्रियाकलापको विपक्षमा छौँ । तर राज्य कमजोर हुन्छ, राज्य जिम्मेवारीबाट विमुख हुन्छ, देशका प्रमुख राजनीतिक दल, सरकारमा बसेका मानिस नागरिककाे सुख सुविधाभन्दा सत्ता केन्द्रित बन्न थाल्छन् भने देशले यस्ता अराजकता बेहोर्नुपर्ने नै हुन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले यस प्रकारको अराजक क्रियाकलापको कहिल्यै पनि समर्थन गर्दैन,’ उनले भने।
विगत केही दिनयता व्यवसायी दुर्गा प्रसाईँले सडकमा विभिन्न खालका कार्यक्रम गरी बैंक तथा वित्तीय संस्थाको विरोध र राजसंस्थाको वकालत गर्दै सरकारको विरोध गर्दै आएका छन्।