धनगढी– नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारका सन्दर्भमा मिलेर जान निर्देशन दिएको छ। प्रदेश संसदीय दलको बैठकले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसकिने निर्णय गरेपछि पार्टीको केन्द्रीय नेतृत्वले मिलेर जान निर्देशन दिइएको हो।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज (आइतबार) प्रदेश सभाबाट विश्वासक मत लिने तयारी गरेका छन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ।
५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत सिद्ध गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुख बाहेक १०, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र १ जना स्वतन्त्र सांसद छन्।
नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ। माओवादी केन्द्रले भने औपचारिक निर्णय गर्न बाँकी छ।