काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उत्साहपूर्वक विद्यार्थी संगठन दर्ता गरिएका छन्।
शुक्रबार बेलुकासम्म क्याम्पसमा उत्साहपूर्वक विद्यार्थी संगठनले आ–आफ्नो संगठन दर्ता गराएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बताएका हुन्।
उनले भने, ‘एक–दुई क्याम्पसबाहेक देशभरि सबै क्याम्पसमा विद्यार्थी संगठनले आ–आफ्ना संगठन दर्ता गराएका छन्। अब १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ।’
निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार विद्यार्थी संगठन दर्ता गर्ने समय तोकिएको थियो। निर्देशक अधिकारीले उपत्यकामा एउटा क्याम्पसबाहेक सबै क्याम्पसमा विद्यार्थी संगठन दर्ता भएको जानकारी दिए।
उनका अनुसार आयुर्वेदिक क्याम्पसमा पनि विद्यार्थी संगठन दर्ता हुन सकेन। उपत्यकाबाहिर लमजुङको कृषि क्याम्पसमा २१ फागुनका लागि विद्यार्थी संगठन दर्ताको समय तोकिएको उनको भनाइ छ।
उनले उपत्यकामा २१ आंगिक क्याम्पसमा संगठन दर्ता भएको बताए। उनका अनुसार त्रिवि केन्द्रीय क्याम्पसमा १९, पुल्चोक इन्जिनिरिङमा ७, नेपाल ल क्याम्पसमा १७, पद्मकन्या बहुमुखी क्याम्पस ११, शंकरदेव क्याम्पसमा १२, त्रिचन्द्र बहुमुखी क्याम्पसमा २४, आरआर क्याम्पस १७, नेपाल कमर्स क्याम्पसमा १६ र अमृत साइन्स क्याम्पसमा १४ विद्यार्थी संगठन दर्ता भएका छन्।
निर्वाचन कार्यतालिकाअनुसार विद्यार्थी संगठनले २७ फागुन बिहान ११ देखि अपराह्न २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउनेछन्। स्ववियु निर्वाचन ५ चैतमा बिहान ८ देखि अपराह्न ४ बजेसम्म तोकिएको छ।