काठमाडौं– एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले एमाले निकट बुद्धिजीविहरु विरोधी जमातमाथि संगठित ढंगले प्रतिवादमा नउत्रिएकै कारण सामाजिक सञ्जाल र मिडियामा नकारात्मक विचार राख्ने समूह हाबी भएको बताएका छन्।
शनिबार एमाले निकट बुद्धिजीवि परिषद् केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विरोधी जमातले संगठित र सक्रिय ढंगले सामाजिक सञ्जालबाट एकै पटक आक्रमण गर्न सक्ने भए पनि पार्टीप्रति आस्थावान बुद्धिजीविले लेखेरै त्यसको प्रतिवाद गर्नुपर्ने बताएका हुन्।
‘पढ्ने कुराबाट ज्ञान आर्जन हुन्छ। लेख्ने कुराबाट ज्ञान व्यवस्थित हुन्छ। त्यसैले तपाईंहरु लेख्न थाल्नुस्। तपाईं–हाम्रा विचारबाट विरोधी जमात आत्तिनुपर्छ। हाम्रा विचारबाट उनीहरुले खतरा महसुस गर्न सक्नुपर्छ। नकारात्मक सोच भएका र कुन्ठाग्रस्त समूहविरुद्ध एक्लै भए पनि विचार प्रवाह गरिरहनुपर्छ’, अध्यक्ष ओलीले भने।
पार्टी निकट बुद्धिजीविलाई १०० जना विरोधीले एकै पटक आक्रमण गरे पनि नआत्तिन र विचारबाटै उनीहरुलाई तर्सिने, आत्तिने बनाउन सक्नुपर्ने ओलीको भनाइ छ।
अध्यक्ष ओलीले सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रयोग गरेर बौद्धिक जगतमा हाबी हुन बुद्धिजीविलाई आग्रह गरे। विपक्षीलाई खतरा महसुस हुने गरी काम गर्न र पार्टीविरुद्ध जति नकारात्मक कमेन्ट गर्छन्, त्यसलाई लेखेरै प्रतिवाद गर्न उनको आग्रह छ। माओवादी युद्धकालमा पनि शालिक ढले, शास्त्र जले तर विचार नढलेकाले एमाले बलियो विचार बोक्ने शक्ति भएको अध्यक्ष ओलीले दाबी गरे।