काठमाडौं– त्रिभुवन विश्वविद्यालयमा आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शुक्रबार विद्यार्थी संगठनले दर्ता गराउँँदै छन्।
शुक्रबार बिहान १० देखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुन सबै क्याम्पसका विद्यार्थी संगठनले आ–आफ्नो संगठन दर्ता गराउनुपर्नेछ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज दर्ता भएका विद्यार्थी संठनले मात्र निर्वाचनमा भाग लिन पाउने बताए।
निर्वाचन कार्यतालिकाअनुसार विद्यार्थी संगठनले २७ फागुन बिहान ११ देखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउनुपर्नेछ।
यस्तै, स्ववियु निर्वाचनका लागि आगामी ५ चैत बिहान ८ देखि दिउँसो ४ बजेसम्म समय तोकिएको छ। देशभरिका त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन हुनेछ।