काठमाडौं- नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पुस १० गतेको राजनीतिक कोर्ष करेक्सन भइसकेकाले अब नयाँ समझदारीका साथ दलहरू अघि बढ्ने बताएका छन्। बिहीबार एक कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन्।
पूर्वमन्त्री बस्नेतले कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितको आठ दलीय गठबन्धनबीचको राजनीतिक समझदारीले देशलाई निकास दिने बताए।
उनले राष्ट्रिय राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएको चर्चा गरे। ‘कांग्रेस पार्टी र सभापति शेरबहादुर देउवाजीले दूरदर्शिता राख्नुभयो, हामीले राजनीतिक निकासका लागि दिशानिर्देश गर्ने, संवाद गर्ने र देशको अहिलेको आवश्यकतालाई बोध गरेर रुपान्तरणको बाटोमा अघि बढ्न प्रेरित गरेपछि अब देशले निकास पाउने आशा जागेको छ’ उनले भने।
पूर्वमन्त्री बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सम्बोधनका क्रममा पहिलेका त्रुटी सच्याएर जाने, संविधानको अक्षरसः पालना पर्ने र सबैलाई मिलाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेपछि कांग्रेसले सहकार्यको प्रस्ताव अघि बढाएको बताए। संविधानको रक्षाका लागि, राजनीतिक स्थिरताका लागि, विकासका लागि कांग्रेसले भूमिका खेल्ने उनले बताए।
उनले नयाँ राजनीतिक अध्याय सुरु भएको बताउँदै यसमा सत्ता स्वार्थ नरहेको दावी गरे। ‘राजनीतिक निकास र दलहरूबीचको सहकार्यलाई जीवन्त राख्न हामी सहकार्यमा पुगेका हौँ,’ उनले भने।
पार्टी भित्रका केही नेताका कारण यसअघि गठबन्धन भत्किए पनि अन्ततः पुनर्मिलन भएको बताए। ‘कांग्रेसकै केही वार्ताकारहरूले राजनीतिक सुझबुझ राख्नसक्नुभएन। वार्ताकारहरूले जिम्मेवारी निभाउन सक्नुभएन। आउन सक्ने परिस्थितिजन्य क्रियाकलापहरू बुझ्न सक्नुभएन।अहिले आएर त्यो अवस्था करेक्सन भइसकेको छ’ उनले बताए।