बिहीबार, असार १२, २०८२

स्ववियु निर्वाचन

सिंहदरबारमा नेता गठबन्धन, महाविद्यालयमा विद्यार्थी गठबन्धन

सत्ता निकट दलमा आबद्ध पाँच विद्यार्थी संगठनले आगामी ५ चैतको निर्वाचनमा मिलेरै जाने निर्णय गरेसँगै बचेखुचेको स्ववियुको अस्तित्व समाप्त पारेर शैक्षिक क्षेत्रलाई थप अराजकतातिर लैजाने निश्चित छ।
 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं– नेपालको राजनीतिले सङ्लो हुने बाटाहरू करिब करिब बन्द गरिसकेको छ। जनमतबाट तिरस्कृतहरू सत्ता पाउन लोकतन्त्रको विधि, संसदीय मान्यता विपरीत गठजोड बनाएरै चुनावमा होमिने क्रमले निरन्तरता पाइरहेकै छ। जनमतलाई आफू अनुकूल बनाउन र सत्तामा सधैंभर रजाइँ गर्न गठबन्धन गरेर राजनीतिलाई दूषित बनाउने खेल कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्रलगायत सबै राजनीतिक दलले गरिरहेका छन्।

मुलुकको सबैभन्दा जेठो र लोकतन्त्रको मियो ठानिने नेपाली कांग्रेसको पछिल्लो नेतृत्वले राजनीतिलाई सत्ता, साधन र गठजोड संस्कृतिका रुपमा वैधानिकता दिएको छ। यसले गर्दा राजनीति संग्लिनुको साटो झनै धुमिल बन्दै गएको छ। जनमतको उपेक्षा हुँदै छ।

कांग्रेस गत ४ मंसिरको निर्वाचनमा आफ्नो पोल्टामा राखेको नेकपा माओवादीसित गठजोड गरेर चुनावी मैदानमा होमिएको थियो। कांग्रेसले संघीय, प्रदेशसभामा मात्र नभई स्थानीय तह निर्वाचनमा पनि माओवादी, नेकपा एस, लोसपालगायतका दलसँग गठबन्धन गरेर जनमत परीक्षणमा गएको थियो।

सत्ताका लागि गठबन्धन जरुरी रहे पनि जनमत बटुल्ने नाममा मन मिल्ने दलहरू एक ठाउँ हुनु प्रजातान्त्रिक सिद्धान्तविपरीत हुने कानुनविद्हरू बताउँछन्। सत्तारुढ राजनीतिक दलहरूले जनमत परीक्षणका बेला गठबन्धन बनाएर निर्वाचनमा होमिएझैं स्ववियु निर्वाचनमा पनि आ–आफ्ना भ्रातृ संगठनहरूलाई एउटै भएर लड्न निर्देशन दिएका छन्।

राजनीतिक दलले सत्ताका लागि गठबन्धन गरे पनि शिक्षा क्षेत्रको श्रीवृद्धिलाई सघाउन जन्मिएका विद्यार्थीका संघ–संगठनहरू पनि सोही प्रक्रियातिर लागेपछि स्ववियुको अस्तित्वबारे प्रश्न उब्जिने कानुनविद्हरू बताउँछन्। 

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ कानुनविद् शेरबहादुर केसी राजनीतिक दलहरू जनताबाट अस्वीकृत हुन थालेपछि गठबन्धन बनाएर जनमत बटुल्ने र सरकार चलाउने ध्याउन्नमा लागेको बताउँछन्। उनले भने, ‘प्रजातान्त्रिक व्यवस्था अंगीकार गरेर संसदीय निर्वाचनमा भाग लिने पार्टीहरूले सरकार गठनका लागि गठबन्धन गर्नु जायज मानिए पनि जनमत परीक्षणका क्रममा मिलेर जानु जनताप्रतिको अविश्वास हो। यसले नेपालको राजनीतिक थप विकृत बन्ने बाटोमा गएको देखाउँछ।’ राजनीतिक दलहरूको लोकप्रियता खस्किँदै गएको प्रमाण यसलाई लिनुपर्ने वरिष्ठ कानुनविद् केसीको बुझाइ छ। 

हुन पनि केन्द्रीय, प्रान्तीय, पालिका तह निर्वाचनपछि सत्तारुढ हुन पुगेका र सत्ताबाट बाहिरिएका कांग्रेस, एमाले, नेकपा माओवादी, नेकपा एस, राप्रपालगायत दलमा आबद्ध विद्यार्थी संघ–संगठनले माउ पार्टीको रणनीति अपनत्व गरेरै आगामी ५ चैतमा हुने स्ववियु निर्वाचनका लागि गठबन्धन बनाएरै चुनावी मैदानमा उत्रिने घोषणा गरेका छन्।

सत्ता निकट दलमा आबद्ध पाँच विद्यार्थी संगठनले आगामी ५ चैतमा हुने स्ववियु निर्वाचनमा मिलेरै जाने निर्णय गरेका छन्। मिलेर जाने भनेको गठबन्धन निर्माण गरेर विद्यार्थीसँग मत माग्ने र स्ववियुलाई आफ्नो पक्षमा पार्ने हो।

बुधबार माओवादी निकट अखिल क्रान्तिकारीको केन्द्रीय मुख्यालयमा बसेको कार्यालयमा बसेको कांग्रेसको नेपाल विद्यार्थी संघ, माओवादीको अखिल क्रान्तिकारी, नेकपा एसको एकीकृत समाजवादी, जसपा र नेपाल समाजवादी निकट विद्यार्थी संगठन स्ववियु निर्वाचनमा मिलेरै जाने र मिलेरै उम्मेदवारी खडा गर्ने समझदारीमा पुगेका छन्।

सत्ता निकट दलमा आबद्ध पाँच विद्यार्थी संगठनले आगामी ५ चैतको निर्वाचनमा मिलेरै जाने निर्णय गरेसँगै बचेखुचेको स्ववियुको अस्तित्व समाप्त पारेर शैक्षिक क्षेत्रलाई थप अराजकतातिर लैजाने निश्चित छ।

स्थानीय तह र संघीय, प्रदेश निर्वाचनमा गठबन्धन गरेर सफलता हात परेकाले पार्टीको माथिल्लो निकायबाटै आफूहरूलाई गठबन्धन गरेर अगाडि बढ्न आदेश आएको विद्यार्थी नेताहरू बताउँछन्। सोहीअनुसार पाँच दलीय गठबन्धन निकटका विद्यार्थी संगठन हाँक्ने  नेताहरूको संयुक्त बैठकले मिलेरै स्ववियु निर्वाचन लड्न सहमति गरेको अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले बताए।

पाँच दलीय विद्यार्थी गठबन्धन बैठकले ५ चैतको स्ववियु निर्वाचन जस्तोसुकै परिस्थितिमा पनि सम्पन्न गर्न साझा प्रतिबद्धता व्यक्त गरेको छ भने निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न त्रिवि र सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। स्ववियु निर्वाचनमै विद्यार्थी संगठन राजनीतिक दलझैं गठबन्धन बनाएर मैदानमा उभिँदा अन्य पार्टी निकट विद्यार्थी पनि त्यसको सिको नगर्ने कुरै भएन।

स्ववियु निर्वाचन देशभर त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने कार्यतालिका सार्वजनिक भइसकेको छ। आँकडाअनुसार ११०२ वटा त्रिवि सम्बन्धन क्याम्पसमा पाँच दलीय विद्यार्थी गठबन्धन एकातिर र एमाले नेतृत्वको विद्यार्थी गठबन्धनबीच चुनाव हुनेछ। स्ववियु चुनाव विद्यार्थी हकहितमा समर्पित हुनुको साटो राजनीतिक पार्टीका नेताहरूको साख जोगाइदिने माध्यम बन्ने निश्चित छ।

राजनीतिक दलहरूकै कारण क्याम्पस, विश्वविद्यालयहरूमा प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ यता नियमित हुन सकेको छैन। ६ चैत २०६५ मा भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा १५ चैत २०७३ मा गरिएको थियो। त्यसपछि अहिले ५ चैतलाई तोकिएको छ।

‘स्ववियु निर्वाचनमा तालमेल गर्न नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुबाट तीन सदस्यीय कार्यदल बनिसकेको छ। सत्तारुढ दलमा आबद्ध भएकै कारण शीर्ष नेतृत्वको आदेशअनुसार पाँच विद्यार्थी संगठनबीच गठबन्धन गरेर स्ववियु निर्वाचनमा होमिने तयारीमा छौं। गठबन्धन गरेर जाँदा पाँच वटै पार्टीका विद्यार्थी संगठनलाई लाभ पुग्ने ठानेका छौं’, कांग्रेसको भ्रातृ संगठन नेविसंघ अध्यक्ष दुजाङ शेर्पा भन्छन्।

१५ फागुनपछि प्रतिपक्षी बनेको एमाले विद्यार्थी संगठन पनि गठबन्धनको सहारामा स्ववियु निर्वाचनमा होमिँदै छ। नेत्रविक्रम चन्द्र विप्लवको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र एमाले निकट अनेरास्ववियुबीच चुनावमा सहकार्य गर्न बिहीबार छलफल भएको छ।

अनेरास्ववियु र अखिल  क्रान्तिकारीका विद्यार्थी नेताहरू चुनावमा सहकार्य गर्न सहमति नजिक पुगेको एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताए। छलफलमा एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडाल, महासचिव नरेश रोकायालगायत विद्यार्थी नेता र विप्लव नेतृत्वको नेकपाका नेता उमा भुजेल, विद्यार्थी अध्यक्ष प्रकाश शाही उपाध्यक्ष नरेन्द्र विश्वकर्मा सहभागी थिए। 

विद्यार्थीको समूह निर्माण गरेर निर्वाचन लड्न छुट
त्रिविस्थित स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार १९ फागुनमा स्ववियु निर्वाचनको दर्ता कार्यतालिका सार्वजनिक गरिँदै छ। ५ चैत हुने स्ववियु निर्वाचनका लागि शुक्रबार संघ–संगठन, समूह दर्ता गर्ने कार्यक्रम छ। समितिका सदस्य–सचिव तथा विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले संघ–संगठन छैन भने पनि समूह दर्ता गर्न पाइने बताए। 

समितिका अनुसार कुनै पनि राजनीतिक दलका भ्रातृ संगठनले एउटाबाहेक अर्को संगठन दर्ता गर्न पाइँदैन। विद्यार्थीले समूह बनाएर पनि स्ववियु निर्वाचन लड्न पाइनेछ। राजनीतिक दलका विद्यार्थी संगठनबाहेकका स्वतन्त्र व्यक्तिहरू समूह बनाएर निर्वाचनमा भाग लिन पाउनेछन्। संयोजकसहित ११ सदस्यीय समिति बनाएर क्याम्पसमा समूह दर्ता गराउन सकिनेछ। 

त्यसका लागि उक्त समूहको बैठक बसेर माइन्युट गरेको र त्यसको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ। बैठकले एक जना संयोजक तोकेको र त्यसको छापसमेत बनाएको हुनुपर्नेछ। समूहलाई क्याम्पसमा दर्ता गराउन विधान आवश्यक पर्ने छैन। 

समूहमा चुनाव लड्ने समूहले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मत पाउनेछ। स्वतन्त्र रूपमा उठेका व्यक्तिले भने प्रत्यक्षको मात्र मत पाउनेछन्। उनीहरूलाई समानुपातिकको मत जाने छैन। 

मुलुककै जेठो र राजनीतिक हस्तक्षेपले थला परेको त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरिसकिएको छ। प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको हो। 

विद्यार्थी संगठनहरू माउ राजनीतिक दलजस्तै गठबन्धन बनाएर चुनावी मैदानमा जाँदा स्ववियु हाँक्ने निर्वाचित पदाधिकारीले शिक्षा क्षेत्रका मुद्दामा केन्द्रित हुनुको साटो दलीय आस्थाका आधारमा शैक्षिक थलोमाथि हैकम जमाउन सक्ने सम्भावना बढी हुन्छ।

प्रकाशित: Mar 02, 2023| 16:43 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...