काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ। पार्टीले समिति गठनसँगै जिम्मेवारीसमेत तोकेको छ।
रास्वपाका अनुसार प्रदेश १ समितिको सभापतिमा राजेश तिम्सिनालाई चयन गरिएको छ।
मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ।
गण्डकी प्रदेशको सभापतिमा राजन गौतम चयन भएका छन्।
लुम्बिनीको सभापतिमा देवराज पाठक र कर्णालीको सभापतिमा धीरजबहादुर वलीले जिम्मेवारी पाएका छन्।
सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्टलाई जिम्मेवारी तोकिएको रास्वापले जनाएको छ।
४ मंसिरको निर्वाचनमा रास्वपाले प्रदेश संरचनाबारे असहमति जनाउँदै उम्मेदवारी घोषणा गरेको थिएन। पार्टी संगठन मुलुकव्यापी बनाउने उद्देश्यले सात वटै प्रदेशमा प्रदेश समिति गठन गरिएको रास्वपाले बताएको छ।