काठमाडौं– आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै कांग्रेस नेतृत्वको नयाँ आठ दलीय गठबन्धनले कार्यदल बनाएको छ।
आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले राष्ट्रपति निर्वाचनको तयारीका लागि कार्यदल गठन गरेको हो।
कार्यदल संयोजकमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का छन्।
आठ दलबाट एक–एक जना रहने गरी कार्यदल गठन गरिएको हो। कार्यदलमा रहेका सदस्यले राष्ट्रपति निर्वाचनमा आ–आफ्नो पार्टीको जिम्मा लिनुपर्नेछ।
कार्यदल सदस्यमा नेकपा माओवादी केन्द्रबाट महासचिव देवप्रसाद गुरुङ, जसपाबाट नेता राजेन्द्र श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल रहेका छन्।
यस्तै, जनमत पार्टीबाट नेता अब्दुल खाँ, लोसपाबाट नेता शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी रहेका छन्।
२५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदै छ। राष्ट्रपति निर्वाचनमा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्य मतदाता हुन्छन्। आठ दलले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाएको छ भने एमालेबाट सुवास नेम्बाङलाई अगाडि सारिएको छ।