काठमाडौं- नेपालका राजनीतिज्ञहरू सत्तालाई जनताको सेवामा समर्पित नगरी पदीय लाभका लागि मरिहत्ते गरिरहन्छन् भन्ने उदाहरण खोज्न भूतकालतिर फर्किनै पर्दैन। पछिल्लो पदीय राजनीतिको छिनाझम्टी ऐनाजस्तै छर्लंग्ग देखिन्छ। राजनीति गेरुवस्त्र धारणाका लागि नगरिएको ओठे जवाफ दिएर पाएसम्म राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री अनि राज्यबाट लाभ पाइने पद पड्काइहाल्ने अधिकांश नेताहरूको चाहना हुन्छ।
शनिबार आठ दलीय गठबन्धनको कोटाबाट राष्ट्रपति पदका लागि मनोनयन दर्ता गराएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको राजनीतिक यात्रा पनि कम रोचक छैन। करिब चार दशकसम्म संसदीय निर्वाचनमा जित हात पार्दै आएका पौडेल प्रधानमन्त्री पदका कति भोका छन् भन्ने उदाहरण १७ पटकको पराजयले देखाइसकेको छ। मन्त्री, सभामुखजस्तो जिम्मेवारी सम्हालिसकेका नेता पौडेलले २०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट झलनाथ खनालबीच प्रतिस्पर्धा गरेका थिए। तर संवैधानिक प्रावधानअनुसारको मतसंख्या तीनै जनाले ल्याउन असफल भएपछि सात पटकसम्म तीनै जनाबीच प्रधानमन्त्रीका लागि हारालुछ भयो।
आठौं प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैं बाहिर निस्किए। त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरे। प्रधानमन्त्रीको चुनावी शृंखलाबाट कुनै परिणाम नआएपछि निर्वाचनसम्बन्धी नियमावली नै परिवर्तन गर्नुपरेको थियो। त्यसपछिको चरणमा हाल नेकपा एसका नेता रहेका तत्कालीन एमाले नेता झलनाथले प्रधानमन्त्रीको बाजी मारे भने रामचन्द्रले असफलता बेहोरे।
२०७२ मा सुशील कोइरालाको आकस्मिक निधनपछि कार्यवाहक सभापति बन्ने अवसरसमेत पाएका रामचन्द्रलाई कांग्रेस राजनीतिभित्र समन्वयकारी एवं मध्यमार्गी भूमिकामा रहने नेता भनिँदै आए पनि पछिल्लो समय सत्ता वरपर रमाउँदै आएका छन्। रामचन्द्र पटक–पटक मन्त्री भएर सरकारमा गए, सभामुख भए। पार्टीमा महामन्त्री र उपसभापतिसम्म भए। तर न सरकारको नेतृत्व लिन सके न त पार्टी प्रमुख नै बन्न सके।
तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई २०१७ मा राजा महेन्द्रले जेल हालेपछि १६ वर्षको उमेरमै कांग्रेस पसेका रामचन्द्र पौडेल चार दशकसम्म राजनीतिक गतिविधिमा सक्रिय छन्। २०४८ देखि २०६३ सम्म सभामुख, गृह, स्थानीय, सञ्चारमन्त्रीलगायत अनेकौ लाभका पद सम्हालिसकेका पौडेल पार्टीको उच्च पद सभापति र प्रधानमन्त्रीका लागि मैदानमा उत्रिए पनि हार बेहोरेका छन्।
रामचन्द्रलाई २०१७ ले जन्माएका नेता पनि भनिने गरेको छ। बीपी कोइरालालाई राजा महेन्द्रले २०१७ मा जेल हालेपछि १६ वर्षकै युवावस्थामा रामचन्द्र कांग्रेस राजनीतिमा छिरे। रामचन्द्रले बीपी २०३३ मा भारतको निर्वासनबाट फर्केपछि निकट रहेर काम गर्ने अवसरसमेत पाए। युवावस्थामै शीर्ष नेताहरूबीचको अन्तरसंघर्षका क्रममा सेतुको काम गर्दै आएको नेता पौडेले अहिले पनि बताउने गर्छन्। बनारसमा रहेका बीपी र कोलकातामा रहेका सुवर्णशमशेरबीच मनमुटाव हुँदा दुई जनाबीच संवाद स्थापित गराएको दाबी पौडेल गर्छन्।
२००१ असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मिएका पौडेल १६ वर्षे उमेरमै राजा महेन्द्रको कदमविरुद्ध आक्रोशस्वरुप राजनीतिमा लागेको बताउँछन्। २०१८ मा कांग्रेसद्वारा सञ्चालित सशस्त्र क्रान्तिमा सहभागिता जनाएका पौडेल २०२३ मा सरस्वती क्याम्पसको विद्यार्थी युनियन सभापति निर्वाचित भएका थिए। त्यसलगत्तै २०२४ मा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिवमा निर्वाचत भए। २०२७ मा नेपाल विद्यार्थी संघको स्थापनामा सहभागी भएर पौडेल संस्थापक केन्द्रीय सदस्य बने।
२०४० मा पौडेललाई कांग्रेसले केन्द्रीय प्रचार समितिको संयोजक बनायो। २०४४ मा कांग्रेस केन्द्रीय सदस्य बनेका पौडेल त्यसयता निरन्तर केन्द्रीय समितिमा छन्। पञ्चायत अन्त्य भई २०४६ मा प्रजातन्त्र आएपछि पौडेल २०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद् सदस्यमा निर्वाचित भए। त्यसपछि बनेको सरकारमा स्थानीय विकासमन्त्री भए। दोस्रो पटक २०४९ मा उनी स्थानीय विकास तथा कृषिमन्त्री बने। २०५१ को मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भए। २०५१ मा प्रतिनिधिसभामा सभामुख निर्वाचित भएर ५ वर्ष सेवा गरे। पौडेल २०५६ मा तनहुँ २ बाट संसद् सदस्यमा तेस्रो पटक निर्वाचित भए भने २०५७ मा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले। उनी २०६२ मा कांग्रेस महामन्त्री भए।
अहिले राष्ट्रपतिका आकांक्षी पौडेलले माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति सचिवालयको संयोजक रहेर जिम्मेवारी निर्वाह गरे। २०६३ मा उनी शान्ति तथा पुनर्निमाण मन्त्री भए, जतिबेला माओवादी सरकारमा थियो। सरसर्ती हिसाब गर्दा पौडेलले करिब १६ वर्ष बढी मन्त्री, सभामुखलगायत लाभको पद सम्हालेको देखिन्छ। २०६४ मा कांग्रेस उपसभापति भएका पौडेल सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ २ बाट चौथो पटक निर्वाचित भए। २०६५ मा उनी कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए। २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौं पटक निर्वाचित हुन सके।
पौडेलले पञ्चायती राजतन्त्रविरुद्ध संघर्षका क्रममा २०१९ देखि २०४६ सम्म गरी विभिन्न पटक १३ वर्ष जेल जीवन बिताएका छन्।
त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर पौडेल संस्कृत साहित्यमा त्रिविबाटै शास्त्री पास हुन्। राजनीतिक लाभ जता पाइन्छ, त्यतै ढल्किने पौडेल कांग्रेस विभाजित हुने बेला देउवाको पक्षमा लाग्न खोजे पनि पछि बीचबाटै गिरिजाप्रसाद कोइरालातिरै फर्किएका थिए।
कांग्रेसभित्र नीतिगत वैचारिक चिन्तन गर्न सक्ने र पटक–पटक मन्त्री हुँदा भ्रष्टाचारमा नमुछिएका इमानदार र निस्कलंक छवि भएका नेताका रुपमा पौडेललाई चिनिने गरेको छ। यद्यपि पौडेल सधैं शक्तिकै वरिपरि छन्। उनले पटक–पटक सांसदको टिकट पाएका छन्।
बीपीको त्यागबाट प्रभावित रामचन्द्रले संविधानसभामा गणतन्त्र संस्थागत गर्ने तथा लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको वकालत गर्ने विषयलाई प्रमुखताका साथ उठाउँदै आएका छन्। सोही कारण पौडेल राष्ट्रपति निर्वाचनमा नेकपा माओवादी केन्द्र र उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहालको रोजाइमा परेका पात्र भएका छन्। राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका पौडेलले ७० वर्ष लडेर प्राप्त गरेको व्यवस्था बचाइराख्ने प्रण गरेका छन्।
पौडेललाई सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ। गत ४ मंसिरमा सम्पन्न प्रदेश तथा संघीय निर्वाचनपछि कांग्रेस र माओवादी मिलेरै सरकार बनाउनुपर्ने बताउँदै आएका पौडेलले एमाले र माओवादीबीच प्रधानमन्त्री आधा–आधा कार्यकाल र राष्ट्रपति एमालेले पूरै कार्यकाल लिने गरी गत १० पुसमा अध्यक्ष ओली निवास बालकोटमा भएको सहमति भएपछि ‘प्रचण्डबाट कांग्रेसलाई नभई, कांग्रसले प्रचण्डलाई धोका दिएको’ टिप्पणी गरेका थिए। प्रचण्डप्रति नरमभाव राख्दै आएका पौडेललाई राष्ट्रपति बनाउन माओवादी केन्द्रले सहयोग गर्ने पक्का छ।