काठमाडौं- वर्तमान सत्ता गठबन्धन दुई महिना नपुग्दै भत्किएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पुस १० गते प्रधानमन्त्री बनाउने समझदारी गर्दै निर्माण भएको नेकपा एमालेसहितको वर्तमान सत्ता गठबन्धन दुई महिना नबित्दै भत्किएको हो।
पुस १० गते एमाले र माओवादीबीच प्रधानमन्त्री तथा सभामुख आलोपालो र राष्ट्रपति एमालेले लिने समझदारीसहित नयाँ सत्ता गठबन्धन निर्माण भएको थियो। तर, नयाँ राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको एक दिनअघि नेपाली कांग्रेस नेतृत्वमा रहेको पुरानो माओवादीसहित पाँच दलीय गठबन्धन ब्युँताउने सहमति भएको छ।
उक्त गठबन्धनमा प्रतिनिधिसभामा रहेका अन्य तीन दल पनि सहभागी भएका छन्। यसररी रहभागी हुनेमा लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन्। यससँगै अब आठ दलीय गठबन्धन बन्ने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको आठ दलको बैठकमा नयाँ गठबन्धन निर्माण गर्ने सहमति भएको हो। गठबन्धन बैठकमा प्रतिनिधिसभाको ठूलो दलको हैसियतमा नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति भएको छ।
बैठकमा कांग्रेसलाई राष्ट्रपति र उपराष्ट्रपति आफ्नो पार्टीलाई दिने सहमति भएको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।