काठमाडौं– राष्ट्रपति निर्वाचनलाई लिएर फुटको सँघारमा पुगेको सात दलीय गठबन्धन बचाएर राजनीतिक सहमति खोज्ने अन्तिम प्रयासस्वरुप सत्तारुढ नेकपा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका ओलीले प्रचण्डसँग राष्ट्रपति निर्वाचन, सरकारको भविष्य र सात दलीय गठबन्धनबारे निर्णायक वार्ता गरिरहेका छन्।
ओलीले सभामुख र राष्ट्रपति आफ्नो दलबाट बनाउने गरी १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन सातै दलको समर्थन जुटाइदिएका थिए। ओलीले बालकोट सहमतिविपरीत नजान पुनः प्रचण्डलाई अन्तिम आग्रह गर्ने बताइन्छ। दुई नेताबीच यतिबेला भइरहेको निर्णायक वार्ता सहमति नजिक नपुगे सत्ता गठबन्धनबाट एमाले बाहिरिने संकेत देखिएको छ।
सत्तारुढ माओवादी केन्द्र पाँच दलीय गठबन्धन ब्युँताएर एमालेलाई राष्ट्रपति नदिने संकेत देखिनासाथ ओलीले बिहीबार जनयुद्ध दिवसमा दिइएको बिदाप्रति कटाक्ष गरेका थिए। यसले पनि सत्तारुढ दलबीच ननिको सम्बन्ध रहेको संकेत गरेको छ।
शुक्रबार बिहान मात्रै औपचारिक रुपमा जुटिनसके पनि पुरानो कांग्रेस कांग्रेस नेतृत्वको गठबन्धनमा आबद्ध माओवादीसहितका चार दल सम्मिलित शीर्ष नेताहरु तीन घन्टा बालुवाटार बसेर आगामी रणनीतिबारे छलफल गरेका थिए।
बालुवाटारको छलफलमा चार दल राष्ट्रपति र उपराष्ट्रपतिमा सैद्धान्तिक सहमति पुगेको बताइए पनि निष्कर्षलाई अन्तिम रुप दिन पुनः बेलुकी ५ बजे बैठक बस्ने कांग्रेस महामन्त्री गगन थापाले पत्रकारलाई सूचित गरेका छन्।