काठमाडौं– राष्ट्रपति उम्मेदवार चयनका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेससहित चार दलको बैठकले सहमतिमा पुग्न नसकेपछि बेलुकी ५ बजे बस्ने गरी टुंगिएको छ।
शुक्रबार बिहान बसेको बैठकमा कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु सहभागी थिए।
१० पुसमा भंग भएको पाँच दलीय गठबन्धनमा आबद्ध दलका शीर्ष नेतृत्वबीच राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर सहमति जुटाउन बालुवाटारमा बसेको करिब साढे ३ घन्टा लामो बैठक बिनानिष्कर्ष टुंगिएको हो।
बैठकमा सहभागी कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेसले राखेको र अन्य दलहरुबाट आएका प्रस्तावमा छलफल भइरहेकाले निष्कर्षमा पुग्न बेलुकी ५ बजे पुनः बैठक बस्ने जानकारी दिए।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए।
बैठकमा राष्ट्रपति पदको निर्वाचन विषयमा केन्द्रित रहेर छलफल भएको र थप सहमतिका लागि बेलुकी पुनः ५ बजे बस्ने गरी टुंगिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।