काठमाडौं– प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेपछि नेकपा एमालेले आफ्नो दलबाटै राष्ट्रपति हुनुपर्ने अडान लिएको छ। एमाले आफ्नो अडानबाट पछि नहटेपछि सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको छ।
नयाँ सत्ता गठबन्धन फुटाएर पुरानै गठबन्धन ब्युँताउने र त्यही गठबन्धनबाट राष्ट्रपति छान्ने उद्देश्यसाथ प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा माओवादी केन्द्र,नेपाली कांग्रेस, नेकपा एस र जसपासहित ४ दलको बैठक जारी छ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्। यस्तै कांग्रेस नेता गगन थापा र माओवादी नता नारायणकाजी श्रेष्ठ पनि बैठकमा सहभागी छन्।
माओवादीको राष्ट्रपतिमा दाबी छैन। राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चुन्नुपर्ने उसको धारणा छ। कांग्रेसले एमालेले जस्तै आफ्नै दलबाट राष्ट्रपतिको उम्मेदवार बन्नुपर्ने अडान लिएको छ। कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने चाहना राखेको छ। राष्ट्रपतिमा यतिबेला कांग्रेसले एमालेको जस्तै अडान लिएको छ।
प्रचण्डसँग एमालेले आफ्नै उम्मेदवार राष्ट्रपति बन्नुपर्ने अडान लिएकोमा यतिबेला कांग्रेसले त्यही अडान लिएको छ। ‘सकारात्मक छलफल भइरहेको छ, राष्ट्रपति कांग्रेसबाटै हुनुपर्छ भन्ने हाम्रो धारण हो, यसमा अन्य दलले पनि समर्थन गर्नेमा हामी ढुक्क छौँ,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताएका छन्।
तर राष्ट्रपतिमा नेकपा एसका माधवकुमार नेपालले पनि दाबी गरेका छन्। नेकपा एसले नेपाललाई राष्ट्रपतिमा सहयोग गर्नुपर्ने बटम लाइन राखेको छ। जसपाले उपराष्ट्रपतिमा दाबी पेस गरिरहेको छ। बैठकमा माओवादी र जसपा नेपाललाई राष्ट्रपति बनाउन परे पनि त्यसमा सहमति हुनुपर्नेमा लचक हुँदा कांग्रेसले भने आफ्नै उम्मेदवार राष्ट्रपति बन्नुपर्ने अडान लिएको छ।
यही परिस्थिति बुझेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ईश्वर पोखरेलमार्फत राष्ट्रपतिमा समर्थन गर्ने सन्देश नेपाललाई पठाएका छन्।
ओलीको उक्त सन्देशपछि नेपालमा झन् आत्मविश्वास बढेको छ। नेपाललाई राष्ट्रपति बनाएर नेकपा एसलाई एमालेमा गाभ्ने योजना बनाएका ओलीले अन्तिम समयसम्म नयाँ गठबन्धन ब्युँतिन नदिने प्रयास गरिरहेका छन्। ‘हामी नै सधैं अरुका लागि बलिदानी दिने भन्ने हुँदैन, राष्ट्रपतिमा सशक्त दाबी हाम्रो छ,’ नेकपा एसका एक नेताले नेपाल समयलाई भने।