राष्ट्रपति निर्वाचनको विषयमा तीन दलले छलफल गरेका छन्। सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुबीच छलफल भएको हो।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत र जनार्दन शर्मा सहभागी छन्। नेकपा एसबाट अध्यक्ष माधव नेपाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भुसाल, प्रकाश ज्वाला र जसपाबाट उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन्।
अहिलेसम्म भएका छलफल सकारात्मक भएकाले ठोस सहमतिमा पुग्नका लागि बैठक बसेको नेताहरुले बताएका छन्। तीन दलबीच सहमति भएपछि कांग्रेससहित चार दलको बैठक बस्ने भएको छ।
कांग्रेस सभापति देउवाले बुधबार नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूसँग आफ्नै निवासमा चरणबद्ध छलफल गरेका थिए। त्यसपछि बेलुका कांग्रेस शीर्षहरूसहित बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग निर्णायक वार्ता भएको थियो।
छलफलमा कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित नेताहरू सहभागी थिए। त्यसअघि देउवाले धुम्बाराहीस्थित निवासमा नेकपा एसका अध्यक्ष नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूसँग छलफल गरेका थिए।
नेकपा ब्युँताउने पक्षमा माधव
भावी राष्ट्रपतिका उम्मेदवारमा प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउने प्रस्ताव गरेका छन्। बिहीबार आफ्नो निवास कोटेश्वरमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग भएको भेटमा उनले सो प्रस्ताव गरेका हुन्।
एमाले अध्यक्ष केपी ओलीले नेपाललाई राष्ट्रपति बनाएर गठबन्धन जोगाउने विकल्प प्रस्तुत गरिरहँदा नेपाल भने नेकपा ब्युँताउनुपर्ने पक्षमा देखिएका हुन्। नेपालले नेकपा ब्युँताएर जाँदा आफू राष्ट्रपतिको उम्मेदवार बन्न तयार भएको पोखरेलसँग बताएका थिए।
राष्ट्रपतिको विषयमा कुरा नमिल्दा अहिलेको सत्ता गठबन्धन धरापमा परेको छ। कांग्रेस भने पुरानो पाँचदलीय गठबन्धन ब्युँताउने जोडबलमा छ। माओवादी त्यसमा सकारात्मक छ। एकीकृत समाजवादीले भने पुरानो गठबन्धनभन्दा पुरानो नेकपा ब्युँताउने पक्षमा देखिएको हो।
आज सिंहदरबारमा प्रधानमन्त्रीसँग भेटेपछि नेपालले राष्ट्रपति कसले पाउनेभन्दा पनि देशको समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने मुख्य कुरा भएको बताएका थिए। अहिले धेरै विकल्पहरु अगाडि भएको र त्यसमध्ये जुन विकल्पले देशको राजनीतिलाई ठीक ठाउँमा ल्याउँछ, त्यही रोज्नुपर्ने उनको भनाइ थियो।
नेकपा एसका नेता घनश्याम भुसालले पनि नेकपा ब्युँताउनुपर्ने प्रस्ताव राखेका छन्। माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने इमान्दार प्रस्ताव हो भने नेकपासमेत ब्युँताउने प्रस्ताव आउनुपर्ने उनको भनाइ छ।
नेकपा ब्युँताएर जान सकिने कुरामा प्रचण्ड पनि सकारात्मक रहेको बताइएको छ। त्यसो भए नेपाल राष्ट्रपति बन्ने र केही समयपछि आफूले केपी ओलीलाई प्रधानमन्त्री छाडिदिने प्रचण्डको भनाइ थियो।
यस विषयमा ओलीलाई पनि ब्रिफिङ भइसकेको एमाले नेताहरुले बताएका छन्, तर ओलीको कुनै प्रतिक्रिया आएको छैन। राष्ट्रपतिको विषयमा छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको छ।
२०७४ सालको चुनावपछि तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेको थियो। २०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादीको एकता भंग गरिदिएपछि यी पार्टी पुन: अस्तित्वमा आएका थिए।
पछि एमाले फुटाएर माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेका हुन्।