काठमाडौं- निर्वाचन आयोगले नयाँ राष्ट्रपति चयनका लागि फागुन २५ गते निर्वाचन मिति सार्वजनिक गरेको छ। १३ गते मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक भएको छ। आज आयोगले मतदाता नामावली प्रकाशनसमेत गरिसकेको छ। उम्मेदवार टुंगो लगाउने दिन नजिकिँदै गर्दा नेताहरूले सक्रियता बढाएका छन्।
नेपाली कांग्रेस र नेकपा एमालेले प्रखर दाबी गरिरहँदा अन्य दलबाट पनि आकांक्षीहरू देखिएका छन्। यसैबीच नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि उम्मेदवारका रुपमा पछिल्लो समय जोडिएर आएका छन्। नेकपा एमालेले सभामुख र राष्ट्रपति आफ्नो भागमा परेको दाबी गर्दै आफ्नै उम्मेदवार राष्ट्रपति हुनुपर्ने अडानबाट पछि हटेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैगरी एमालेबाट राष्ट्रपति नबनाउने अडान राखेर कांग्रेसलाई समर्थन गर्ने संकेत गरेपछि एमालेले नेपाललाई राष्ट्रपतिका रुपमा अघि सारेको हो। यद्यपि, एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै पनि एमालेबाट राष्ट्रपति बनाउनुपर्ने लबिङबाट पूर्ण रूपमा पछि हटेका छैनन्। यसअघि ईश्वर पोखरेललाई राष्ट्रपतिमा अघि बढाउन खोजेका ओलीले प्रचण्डले नमानेपछि सुबास नेम्वाङको नाम पनि नेपालसँगै अघि सारेका छन्। आज मात्रै पनि प्रधानमन्त्री प्रचण्डसँगको भेटमा उनले नेम्बाङ र नेपालको नाम अघि सारेका छन्।
यता नेपाली कांग्रेस जसैगरी सत्ता गठबन्धन फुटाउन चाहिरहेको छ। राष्ट्रपति निर्वाचनमा निर्णायक देखिएको माओवादीसँग उसले सहयोगको अपेक्षा गरेको छ। राष्ट्रपति एमालेलाई नदिने प्रचण्डको अडान र जसै आफ्नो पोल्टामा पार्नेगरी सक्रियता बढाएका ओलीलाई हेरेर कांग्रेसले ढोक्सा अघि तेर्स्याएको छ। सत्ता गठबन्धनका दुई शीर्ष नेता ओली-प्रचण्डको चिसो सम्बन्धलाई प्रयोग गर्ने ध्याउन्नमा कांग्रेस छ। प्रचण्डसँग सभापति शेरबहादुर देउवाले भेटेर आफूलाई सहयोग गर्न औपचारिक प्रस्ताव गरिसकेका छन्। तर प्रचण्डले एमालेको उम्मेदवार भएको खण्डमा कांग्रेसलाई सहयोग गर्ने वचन दिए पनि ओलीले नेपाललाई अघि सारेमा नेपाललाई सहयोग गर्ने जवाफ दिएका छन्।
यता लोसपा अध्यक्ष महन्थ ठाकुरले पनि राष्ट्रपतिमा आकांक्षा राखेका छन्। उनले आफूलाई सहयोग गर्न कांग्रेस र माओवादीसँग आग्रह पनि गरेका छन्। यद्यपि, ठाकुरको सम्भावना निकै कम छ। यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको नाम पनि राष्ट्रपतिका रुपमा चर्चामा छ। भट्टराई आफैंले यसका लागि सक्रियता नबढाए पनि प्रचण्डले भने ओलीसँग राष्ट्रपति उम्मेदवारका रुपमा भट्टराईको नाममा पनि छलफल गरेको उनी निकट स्रोतले बताएको छ। यद्यपि एमाले भने भट्टराईलाई राष्ट्रपतिमा सहयोग गर्ने मनस्थितिमा छैन।
नेकपा एस, लोसपा र नेसपाका नेताको राष्ट्रपतिमा आकांक्षा रहे पनि एस र नेसपा ओली-प्रचण्डको असहमतिमा प्रचण्डसँग निकट छन्। सीके राउत नेतृत्वको जनमत पार्टीले पनि प्रचण्डकै निर्णयलाई सकार्ने संकेत गरिसकेको छ।
लोसपा आफैं ठाकुरलाई राष्ट्रपति बनाउन लबिङ गरिरहे पनि कांग्रेससँग निकट रहेको छ। नागरिक उन्मुक्ति पार्टीले कसलाई सहयोग गर्ने आधिकारिक निर्णय नगरिसके पनि पछिल्लो समय उन्मुक्ति कांग्रेसप्रति नै बढी लचक देखिन्छ। जसपाले राष्ट्रिय सहमतिमै राष्ट्रपति बनाउने धारणा राखिसकेको छ। राप्रपा र रास्वपाले भने एमालेलाई सहयोग गर्ने संकेत गरिरहेकोमा राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी राष्ट्रपति निर्वाचनबारे अहिलेसम्म मौन छन्।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा ८८१ मतदाता हुनेछन्। निर्वाचन आयोगले तयार गरेको मतदाता नामावलीमा ८८१ जनाको नाम छ। प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्न पाउनेछन् ।