काठमाडौं– ७ फागुनको प्रजातन्त्र दिवस अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएपछि रिहा भएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको निलम्बित पद फुकुवा भएको छ। बुधबार सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त सांसद चौधरीलाई आममाफी दिएको पत्र पढेर सुनाएसँगै उनको पद यथावत् रहेको हो।
सांसद पद फुकुवा नभएपछि उनको नाम राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावलीमा समावेश थिएन। संसद्मा जानकारी भएसँगै संसद् सचिवालयले निर्वाचन कार्यालयलाई पत्र पठाएपछि उनको नाम मतदाता नामावलीमा समावेश गरिनेछ। थरुहट आन्दोलनका क्रममा ट्रयाक्टर आगजनी मुद्दामा चौधरी जेल परेका थिए। उनी जेल परेपछि सांसद पद निलम्बित भएको थियो।