काठमाडौं– आगामी २५ फागुनमा तय गरिएको राष्ट्रपति निर्वाचनमा आ–आफ्ना पार्टीबाट उम्मेदवार तय गर्न राजनीतिक दलबीच सघन छलफल भइरहेका छन्। सत्तारुढ एमाले, कांग्रेस, नेकपा एसपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि राष्ट्रपति निर्वाचनमा सहभागी हुन दौडधुप गरिरहेको छ।
बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा राष्ट्रपति उम्मेदवारको विषयमा कांग्रेस र लोसपा नेताहरुबीच छलफल भइरहेको छ।
लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ। ठाकुरको नाममा राष्ट्रिय सहमति कायम गर्न आग्रह गर्दै कांग्रेस शीर्ष नेतासँग छलफल गरिएको लोसपा नेता शरतचन्द भण्डारीले बताए।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल २८ फागुनमा सकिने हुँदा २५ फागुनमा नयाँ राष्ट्रपतिको निर्वाचन हुँदै छ। निर्वाचन आयोगले १३ फागुनमा मनोनयन दर्ता कार्यक्रम सार्वजनिक गरेको छ।