प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ।
बुधबार बिहान प्रम निवास बालुवाटारमा पुगेर राजदूत सोङले प्रधानमन्त्रीलाई भेटेका राजदूतले प्रचण्डसँग आगामी राष्ट्रपति को बन्ने भन्नेबारेमा जिज्ञासा राखेको बताइएको छ। जवाफमा प्रचण्डले दलहरुबीच छलफल जारी रहेकाले सहमतिमा राष्ट्रपति चयन हुने जानकारी गराएका थिए।
राजदूत सोङले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि हालै भेट गरेका थिए। भारतीय विदेश सचिव विनयमोहन क्वात्राले पनि हालै नेपालको भ्रमण गरेर राष्ट्रपति निर्वाचनबारे चासो राखेका थिए।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते मनोनयन दर्ताको मिति तोकिएको छ। राष्ट्रपति निर्वाचनका लागि पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकिएको छ। राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद र प्रदेशसभाका सदस्यले मात्रै मतदान गर्न पाउँछन्।
हाल प्रतिनिधिसभामा २ सय ७४ सदस्य छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएकाले एक पद रिक्त छ। राष्ट्रियसभामा ५९ जना सदस्य छन्। प्रदेशसभामा भने ५ सय ५० सदस्य छन्।