काठमाडौं– सोमबार अबेर बेलुका पार्टी मुख्यालय पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको पार्टी पदाधिकारी बैठक बसालेर नयाँ राष्ट्रपतिमा मत हाल्ने विषयमा अन्तिम निर्णय लिने हकाधिकार पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक चेपुवामा पर्ने संकेत देखिएको छ। ९ पुसमा केपी ओली निवास बालकोटमा भएको सहमतिबमोजिम राष्ट्रपति निर्वाचनमा नसघाए प्रधानमन्त्री प्रचण्डको सरकारबाट एमाले बाहिरिने पक्का छ। यसको पुष्टि सोमबारमात्रै एमाले नेता एवं सांसद विशाल भट्टराईले गरेका छन्।
उनका अनुसार यदि माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई मत हाले एमाले सरकारबाट बाहिरिनेछ। त्यतिबेला एमाले मात्रै बाहिरिने छैन, उसका सहयात्री राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र रवि लामिछाने नेतृत्वको रास्वपाले पनि प्रचण्डलाई दिएको समर्थन फिर्ता लिनेछन्। एमाले, राप्रपा र रास्वपाले सरकारमाथिको समर्थन फिर्ता लिनासाथ प्रधानमन्त्री प्रचण्ड अल्पमतमा पर्नेछन्।
राप्रपा र रास्वपाले आफूलाई समर्थन नगर्ने सुइँको प्रधानमन्त्री प्रचण्डले पाइसकेका छन्। पेरिसडाँडाको सोमबारे बैठकले दिएको म्यान्डेटअनुसार प्रचण्डले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गरे प्रधानमन्त्रीको पद गुम्ने निश्चित छ भने नगरे ओलीको तजबिजअनुसार सरकार सञ्चालन गर्नुपर्ने बाध्यतामा हुनुपर्नेछ। अझ एमाले रुचिको राष्ट्रपति निर्वाचित भए प्रचण्डलाई प्रधानमन्त्रीको अभिभारा सम्हाल्न झनै सकस हुनेछ।
एमाले र कांग्रेसको बुइ चढेर सत्ताको स्वाद चाखिरहेका प्रचण्डलाई सधैं अस्थिर र बोलीको ठेगान नभएका नेताको आरोप लागिरहेको छ। यस्तोमा यो आरोपबाट सफाइ पाउन उनले बाध्यात्मक रुपमै भए पनि बालकोट सहमतिलाई शिरोधार्य गर्नैपर्नेछ। अन्यथा उनीमाथिको आरोपले प्रमाणित हुने अवसर पाउनेछ। प्रधानमन्त्री नपाएको झोंकमा बालकोट हान्निएका प्रचण्डलाई कांग्रेसले पनि शंकाको नजरले हेरिरहेको छ।
सोमबार भावी राष्ट्रपतिका लागि नेकपा एसका अध्यक्ष माधव नेपालको नाम एकाएक बाहिर ल्याइएपछि राजनीति थप तरंगित बनेको छ। माओवादीले सोमबार मात्रै राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्ने निर्णय गरेसँगै उत्साही बनेका कांग्रेसीहरू नेता नेपालको चर्चाले सशंकित हुने अवस्थामा पुगेका छन्। कांग्रेसलाई कुनै पनि हालतमा राष्ट्रपति नसुम्पिइने अडानमा रहेका एमाले अध्यक्ष ओलीले पानी बाराबारको अवस्थाका नेता नेपाललाई सहमतिमा ल्याउन सूत्र परिचालन गरिसकेको बुझिएको छ।
राष्ट्रपतिमा शतप्रतिशत समर्थन गर्ने वाचासहित अध्यक्ष ओली र नेता नेपालबीच प्रत्यक्ष कुराकानी भएको स्रोतको दाबी छ। एमाले र नेकपा एसका दोस्रो तहका केही नेता माधव नेपाललाई ओली प्रस्तावमा वामपन्थी दलका तर्फबाट राष्ट्रपतिको साझा उम्मेदवार बनाएर पार्टी एकता गराउन सक्रिय रहेको बताइन्छ। यसका लागि अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई परिचालन गरेका छन्। नेकपा एसबाट पनि सोम पाण्डे, पूर्वकानुनमन्त्री गोविन्द बन्दी र किसान श्रेष्ठसहितका नेताहरू नेता नेपाललाई भावी राष्ट्रपति निर्वाचित गर्न एमालेसँग बारम्बार वार्तामा जोडिइरहेका छन्।
माधव नेपाललाई राष्ट्रपतिमा खडा गर्ने चाँजोपाँजो मिलाउन एमाले उपमहासचिव प्रदीप ज्ञवालीसँग सोमबार मात्रै नेकपा एसका नेता सोम पाण्डेले अलग्गै भेटेका थिए। एमाले–समाजवादी एकतासँगै माओवादीलाई पनि मिलाएर नेकपा ब्युँताउनेसम्मको उद्देश्यसहित दोस्रो तहका नेताहरू सक्रिय भएका छन्। ओलीबाट प्रस्तावित उम्मेदवारका रुपमा माधव नेपालले अस्वीकार गरे विकल्पमा डा. बाबुराम भट्टराई र समाजवादीका सम्मानित नेता झलनाथ खनालको नाम पनि राष्ट्रपतिका चर्चामा आएको छ। भट्टराई र खनालमध्ये कुनै एक जनालाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अगाडि सारिए प्रचण्डले बाध्यात्मक रुपमै भए पनि कांग्रेस उम्मेदवारलाई भोट दिने छैनन्। वामपन्थी रुझानका भट्टराई त माओवादी आन्दोलनका बेला प्रचण्डसँगै लडेका हुन्।
ओली र प्रचण्डबीच राष्ट्रपतिकै चर्चामा रहेर धेरै पटक भेट र छलफल भए पनि अहिलेसम्म कुनै निष्कर्ष भने निस्कन सकेको छैन। यस्तोमा ओलीले नेता नेपाललाई नयाँ राष्ट्रपतिमा अगाडि सारे प्रचण्डलाई नैतिक रुपमा दबाब सामना गर्नुपर्नेछ। प्रचण्डले नेता नेपाललाई समर्थन नगरी कांग्रेसतिर ढल्किन नैतिक रुपले पनि दिँदैन। एमालेको मिसन ग्रास रुट अभियानमा जोडिन सुर्खेत पुगेका रहेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिको सहमतिबाट पछि हट्न नसक्ने दाबी गरे। उनले भने, ‘एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाएर गुन लगाएकै हो। उहाँले नै राष्ट्रपति एमालेको भागमा पारियो भन्नुभएको हो। अहिले आएर धोका दिए प्रचण्डको बचेखुचेको राजनीतिक इमेज धरापमा पर्छ। प्रचण्ड पूर्वसहमतिबाट पछि हट्ने अवस्था छैन।’
राष्ट्रपति निर्वाचनको मिति साँघुरिँदै जाँदा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), रास्वपा, राप्रपा राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन हुनुपर्ने पक्षमा देखिएका छन्। आइतबार र सोमबार दुई दिन चलेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधान र व्यवस्थाको रक्षाका निम्ति राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने निर्णय गरेको जसपा सांसद राजकिशोर यादवले बताइसकेका छन्। ‘राष्ट्रपति राष्ट्रिय सहमतिका आधारमा संविधान र व्यवस्थाप्रति प्रतिबद्ध, सबैलाई स्वीकार्य व्यक्तित्व हुनुपर्ने हाम्रो लाइन हो। राष्ट्रपति र उपराष्ट्रपति चयन गर्दा खस–आर्य मात्रै हुनुभएन, मधेसी, दलित, मुस्लिमलगायतका अनुहार पनि हुनुपर्यो भन्ने विषयमा छलफल भयो,’ उनले भने।
सोमबारको बैठकको सुरुमै अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिको विषयलाई लिएर आइतबार साँझ प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भएको त्रिपक्षीय भेटवार्ताबारे ब्रिफिङ गरेका थिए।
प्रधानमन्त्रीका रूपमा प्रचण्डले राष्ट्रिय सहमतिको विषय उठान गर्नु स्वाभाविक भए पनि सात दलभित्रैबाट राष्ट्रपति उम्मेदवार उठाउनुपर्नेमा उनको जोड छ। प्रचण्ड गठबन्धनको नेतृत्व गरेरै प्रधानमन्त्री बनेकाले सहमतिअनुसार हिँड्नुपर्ने लिङ्देनले बताएका छन्। उनले भने, ‘प्रधानमन्त्री देशको अभिभावक पनि हो। उहाँले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गरौं भन्नु अनौठो होइन। तर कांग्रेसको उम्मेदवारलाई राष्ट्रपति बनाउँदा राष्ट्रिय सहमति हुन्छ पक्कै भनिएको होइन। एमाले उम्मेदवार वा सात दलीय गठबन्धनबाट उठेकालाई राष्ट्रपतिमा निर्वाचित गरे मात्रै राष्ट्रिय सहमति हुने हो।’
गठबन्धनमा रहेका ६ वटै पार्टीले नेता नेपाललाई आगामी राष्ट्रपति निर्वाचनमा खडा हुन सर्वसम्मत निर्णय गरे प्रधानमन्त्री प्रचण्ड र उनको पार्टी नेकपा माओवादी केन्द्रलाई समेत कांग्रेस बिर्सनुपर्ने अवस्था आउनेछ। एकातिर कांग्रेसले खडा गर्ने उम्मेदवारलाई समर्थन गर्दा प्रचण्डको प्रधानमन्त्री पद गुम्नेछ भने अर्कोतिर नेता नेपाललाई राष्ट्रपतिमा नसघाए बचेखुचेको वाम रुझानसमेत नामेट हुनेछ। यसले गर्दा पनि आगामी राष्ट्रपति चुनावले एमाले, कांग्रेसभन्दा प्रधानमन्त्री प्रचण्डलाई अप्ठेरोमा पार्ने निश्चित छ।