सोमबार, असार १६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीको 'प्लान बी' : माधव नेपाललाई राष्ट्रपति बनाएर एसलाई एमालेमा गाभ्ने

ओलीको 'प्लान बी' : माधव नेपाललाई राष्ट्रपति बनाएर एसलाई एमालेमा गाभ्ने

ओलीले राष्ट्रपतिमा नेकपा एसका अध्यक्ष नेपाललाई अघि सार्ने तयारी गरेको पूर्वसूचना आफूले पाएको भन्दै प्रचण्डले त्यसो भएमा नेपाललाई कांग्रेसले पनि सहयोग गर्नुपर्ने हुन सक्ने प्रस्ताव गरेका थिए।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

काठमाडौं- आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागेको सुइँको पाएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरे।

संसद् विघटनसँगै नेकपाको आन्तरिक कलह चर्कियो, ओली र पुष्पकमल दाहाल–माधव समूहले एकअर्कालाई कारबाही र पार्टीको साधारण सदस्य समेतबाट निलम्बन गरे। त्यसयता ओली र प्रचण्डको सम्बन्ध झिजोलाग्दो थियो, त्यसपछि नेताद्वयले एकअर्कालाई गरेका गालीपुराण सामाजिक सञ्जालमा अझै ताजा छन्। तर गत पुस १० गते नेपाली राजनीतिमा नेकपा एमाले अध्यक्ष ओलीले नेपाली राजनीतिमा नयाँ ट्विस्ट दिए, प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेर।

८९ सिटसहित संसद्मा पहिलो दल बनेको नेपाली कांग्रेसलाई ओलीले दिएको झट्काले अझै कांग्रेस ठीक ठाउँमा उभिन सकेको छैन। तर प्रधानमन्त्रीसहित संवैधानिक नियुक्तिहरु गुमाएको कांग्रेसले राष्ट्रपतिमा भने माछा पार्ने आशासहित ढोक्सा थापेको थियो। सभामुख एमालेलाई दिएर राष्ट्रपति पनि एमालेलाई दिँदा भविष्यमा हुन सक्ने दुर्घटनाको आकलन गरेर प्रचण्ड कसैगरी दुवै पद एमालेलाई दिन तयार भएनन्।

राष्ट्रपतिको उम्मेदवारकै विषयमा ओली प्रचण्डबीच पटकपटकको भेटमा उम्मेदवार टुंगो लागेन। ओलीले एमालेकै उम्मेदवारमा दबाब दिइरहँदा राष्ट्रिय सहमतिको रटानमा प्रचण्ड थिए र छन्। यही असहमितकै आधारमा राष्ट्रपति आफ्नो ढोक्सामा पर्ने अपेक्षा कांग्रेसको छ। तर अन्तिम समयमा आएर ओलीले राष्ट्रपतिको उम्मेदवारका रुपमा माधव नेपाललाई अघि सार्ने तयारी गरेका छन्।

पहिले नै राष्ट्रपतिमा नेपाललाई अघि सार्ने संकेत प्रधानमन्त्री प्रचण्डलाई गरिसकेका ओलीले आइतबार नेपालसँग यस विषयमा छलफल गरेका छन्। आइतबार महाराजगञ्जस्थित एक व्यवसायीको घरमा नेपाल र ओलीबीच राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल भएको नेपाल निकट स्रोतले जनाएको छ। स्रोतका अनुसार ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन्।

“एमाले अध्यक्षज्यूकै प्रस्तावमा भेट भएको हो, राष्ट्रपतिको उम्मेदवारबारे सकारात्मक छलफल भएको छ,” स्रोतले भन्यो। स्रोतका अनुसार ओलीले राष्ट्रपतिमा नेपाललाई सघाउने बचन दिई पार्टी एकताको शर्त राखेका छन्। यदि नेपाल राष्ट्रपति भएमा एमालेबाट छुट्टिएर बनेको नेकपा एस पुन: एमालेमै गाभिनेछ।

यसअघि शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्कालगायतका नेताहरुसँग राष्ट्रपतिमा सहयोग माग्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले एमालेको उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग नगर्ने आश्वासन दिएका थिए। तर ओलीले राष्ट्रपतिमा नेकपा एसका अध्यक्ष नेपाललाई अघि सार्ने तयारी गरेको पूर्वसूचना आफूले पाएको भन्दै त्यसो भएमा नेपाललाई कांग्रेसले पनि सहयोग गर्नुपर्ने हुन सक्ने प्रस्ताव गरेका थिए।

निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपति निर्वाचनको मिति तोकेको छ। १३ गते उम्मेदवारी मनोनयन हुनेछ। निर्वाचन मिति नजिकिँदै जाँदा दलहरुले सक्रियता बढाएका छन्।

प्रकाशित: Feb 21, 2023| 08:34 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...